‘विश्वासको मत प्राप्त हुने आधार नरहेपछि नयाँ सरकार गठनको सिफारिस गरें’

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने कर्मकान्ड गर्नुभन्दा सिधै सरकार गठनको आह्वान उचित भएकैले राष्ट्रपति विद्यादेवी भण्डारीलाई नयाँ सरकारको लागि आह्वानकाे अनुरोध गरिएको बताएका छन् । बालुवाटारमा पत्रकार सम्मेलन गरेर प्रधानमन्त्री ओलीले विश्वासको मत प्राप्त हुने आधार नरहेको कारणले गर्दा राष्ट्रपतिलाई नयाँ सरकार गठनको लागि सिफारिस गरिएको जनाएका छन् ।
आफूले विश्वासको मत पाउने नदेखेपछि छिटै अर्को सरकार बनोस् र बजेट, नीति तथा कार्यक्रम ल्याउन सजिलो होस् भनेर धारा ७६ को उपधारा (५) अनुसार सिफारिस गरिएको प्रधानमन्त्रीको भनाइ छ । उनले हिजोको आह्वान बाहिर आएपछि बहुतै कृत्रिम नाटकीय व्याख्या भएको जिकिर पनि गरेका छन् ।
‘विश्वासको मत लिने कर्मकाण्ड गरे पनि आखिर धारा ७६ को उपधारा ५ मा नै जानुपर्छ, त्यसरी प्रक्रिया लामो बनाउनुभन्दा सिधै सरकार गठनको आह्वान गर्न राष्ट्रपतिज्यू समक्ष आग्रह गरेका हौँ’, प्रधानमन्त्रीको भनाइ छ ।

प्रतिक्रिया