ओलीलाई आलेको चेतावनी- स्थानीय तह निर्वाचनमा ६० प्रतिशत जित हासिल गर्ने घमण्ड नगर्नू

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेले स्थानीय तह निर्वाचनमा ६० प्रतिशत जित हासिल गर्ने घमण्ड नगर्न एमाले अध्यक्ष केपी ओलीलाई चेतावनी दिएका छन् ।
ओलीकै घमण्डका कारण बामपन्थीहरुको दुई तिहाई नजिकको संघीय सरकार ढलेको र प्रदेश सरकार पनि गुमाउनु परेको उल्लेख गर्दै मन्त्री आलेले स्थानीय तह निर्वाचनमा पनि ६० प्रतिशत जित हासिल गर्ने ओलीको घमण्डलाई नेपाली जनताले जवाफ दिने पनि बताए ।
गौरीशंकर मिडिया प्रालिले आज काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले ओली नेतृत्वकै सरकारले नारायणहिटी संग्राहलय र पशुपतिमा रहेको धर्मशाला कौडीको मूल्यमा बिचौलियालाई बुझाएको दाबी गर्दै ओलीले अव घमण्ड गर्न नमिल्ने बताए ।
नेकपा (एकीकृत समाजवादी)का नेतासमेत रहेका मन्त्री आलेले ओलीमा महाभारतको दूर्योधनभन्दा बढि घमण्ड चढेको तर जनताले त्यसको जवाफ आगामी निर्वाचनमा दिने बताए ।
मन्त्री आलेले आगामी ३ वर्षभित्र सम्पन्न हुने गरी चलचित्र नगरी दोलखाका लागि आवश्यक बजेटको व्यवस्था गर्न आफूले सक्दो पहल गर्ने बताए । त्यसका लागि आफूले प्रधानमन्त्री, सञ्चारमन्त्री र अर्थमन्त्रीसँग छलफल गर्ने पनि उनले बताए । मन्त्री आलेले त्यसका लागि आवश्यक बजेटको व्यवस्था गर्न सरोकारवाला सबै निकायले सरकारलाई घच्घच्याउनेपर्ने पनि बताए । मन्त्री आलेले मर्यादित पत्रकारिता गर्न पनि सञ्चार माध्यामहरुलाई आग्रह गरेका छन् ।
प्रतिक्रिया