हामी त सुरुदेखि नै तटस्थ बस्दै आएका छौँ, अहिलेको अवस्था पनि त्यही छ : अध्यक्ष ठाकुर

काठमाडाैं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले कांग्रेस-माओवादी गठबन्धनमा नजाने स्पष्ट पारेका छन् । साथै उनले आफूहरु प्रधानमन्त्री केपी शर्मा ओलीको विरुद्धमा जान नसक्ने पनि उल्लेख गरेका छन् ।
शुक्रबार सिंहदरबारमा बसेको आफ्नो पक्षका सांसदहरूसँगको बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिंदै उनले यस्तो बताएका हुन् ।
‘हामी त सुरुदेखि नै तटस्थ बस्दै आएका छौँ, अहिलेको पनि अवस्था त्यही छ, ओलीजीको विरोधमा छैनौँ,’ ठाकुरले भने ।
प्रधानमन्त्री ओलीसँग जसपाको माग मुद्धा बारेमा भएको छलफलबारे जानकारी गराएको बताउँदै उनले आफूहरु प्रधानमन्त्री ओलीको विरुद्धमा नजाने निर्णयमा पुगेको बताए ।
यसअघि जनता समाजवादी पार्टीले प्रधानमन्त्री पदका लागि पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई अघि सारे पनि उनले अस्वीकार गरेका थिए । पार्टीका अर्का अध्यक्ष उपेन्द्र यादव र नेता डा. बाबुराम भट्टराईले ठाकुरलाई समर्थन गरेका थिए ।

प्रतिक्रिया