११ दिनपछि इजरायल र हमासबीच युद्धविराम
‘अमेरिकाको दबाब र मिश्रको मध्यस्थताले काम गर्यो’

काठमाडौं । मिश्रको मध्यस्थतापछि इजरायल र प्यालेस्टाइनको हमासबीच एघार दिन देखि चलिरहेको हिंस्रक संघर्ष तत्कालका लागि रोकिएको छ । यो युद्धमा करिब तीन सय मानिस मारिएको अनुमान छ । जसमा महिला तथा बालबालिकाको संख्या उल्लेख्य छ ।
इजरायल र प्यालेस्टाइनबीच आज शुक्रबारदेखि युद्धविराम लागु हुने बताइएको छ । मिश्रको मध्यस्थता तथा अमेरिकी राष्ट्रपति जो बाइडेनले गाजा पट्टीका विषयमा दिएको एक बयानपछि यो युद्धविराम भएको हो । बाइडेनले इजरायली हमलाबाट तहसनहस भएको गाजा क्षेत्रको पुनर्निर्माणको संकल्प लिनुका साथ है मानवीय आधारमा तत्काल युद्ध रोक्न अपिल गरेका थिए ।
यो इजरायल र प्यालेस्टाइनबीच बितेका केही वर्षयताको सबैभन्दा ठूलो हिंस्रक संघर्ष हो । युद्धविरामको घोषणापछि गाजामा यसलाई इजरायलविरुद्वको जितका रुपमा व्याख्या गरिएको छ । त्यहाँका जनता शुक्रबार बिहानैदेखि सडकमा निस्किएर खुसी मनाइरहेका छन् ।
मिश्रको मध्यस्थता
स्थानीय समयअनुसार शुक्रबार बिहान २ बजेदेखि युद्धविराम लागु भएको बीबीसीले समाचारमा जनाएको छ । हमासले इजरायलसँग युद्धविरामको आधिकारिक घोषणा गरिसकेको छ भने इजरायली मन्त्री मण्डलले पनि त्यसको पुष्टि गरेको छ । यद्यपि इजरायलले युद्धविराम लागु हुने समय बताएको छैन । हमासले युद्धविराम लागु भएको खुसीमा कुनै क्षति नपुग्ने गरी केही रकेट प्रहार गरेको छ ।
इजराइलका तर्फबाट पनि युद्धविरामपछि पनि एउटा एयर स्ट्राइक गरिएको समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् । युद्धरत दुवै पक्षले अर्को पक्षद्वारा युद्धविराम उल्लंघन भए आफू त्यसको जवाफ दिन तयार रहेको बताएका छन् । यता मध्यस्थकर्ता मिश्रले युद्धविरामको निरीक्षण गर्न आफ्नो एक प्रतिनिधिमण्डल खाडी क्षेत्रमा पठाउने घोषणा गरेको छ ।

बाइडेनको अपिल
यसअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसमक्ष संघर्ष रोक्न आह्वान गरेका थिए भने मिश्र, कतार तथा संयुक्त राष्ट्रसंघ पनि मध्यस्थताका लागि प्रयासरत थिए । बाइडेनले आफ्नो एक सन्देशमा युद्धमा मारिएका दुवै देशका नागरिकहरुप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । अमेरिकाले मानवीय आधारमा प्यालेस्टाइनको सहायतामा संयुक्त राष्ट्रसंघ मिलेर काम गर्ने कुरा बताएको छ । बाइडेनले प्यालेस्टाइन प्रशासनसँगको सामञ्जस्यतामा काम गरे पनि त्यो हमासलाई हतियारको भण्डार खडा गर्ने अवसर भने नभएको चेतावनीसमेत दिएका छन् । हमास प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासको विरोधी समूह हो । गाजा क्षेत्रमा हमास को वर्चस्व रहँदै आएको छ ।
मे १० तारिखमा हमासद्वारा प्रहार गरिएको रकेट हमलामा इजरायलमा आठजनाको मृत्यु भएपछि यी दुई मुलुकबीच युद्ध सुरु भएको थियो । इजरायल-प्यालेस्टाइनबीचको यो संघर्षमा दुवै पक्षका गरी सयौं नागरिक मारिए । गाजाका स्वास्थ अधिकारीहरुका अनुसार युद्धका क्रममा प्यालेस्टाइनका २३२ मानिस मारिए जसमा ६५ जना बालबालिका छन् भने १९ सयजति घायल भएका छन् । इजरायलले १६० हमास लडाकु मारिएको दाबी गरेको छ भने उसका पनि १२ जनाको ज्यान गएको छ ।
प्रतिक्रिया