संविधानको धारा ७६ को (५) बमोजिम प्रधानमन्त्रीमा दाबी प्रस्तुत गर्ने समय सकियो

नेपालखोज २०७८ जेठ ७ गते १७:०१

काठमाडौं । संविधानको धारा ७६ को (५) बमोजिम प्रधानमन्त्रीमा दाबी प्रस्तुत गर्ने समय सकिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज बेलुकी ५ बजेसम्म नयाँ सरकार गठनका लागि दाबी पेश गर्न दलहरुलाई समय दिएकी थिइन् ।

यसबीचमा प्रधानमन्त्री केपी शर्मा ओली र विपक्षी गठबन्धनका तर्फबाट कांग्रेस सभापति शेरबहादुर देउवाले दाबी पेश गरेका छन् । तोकिएको समय सकिन करिब एक घण्टा अगाडी देउवा १४९ सांसदको हस्ताक्षर बोकेर राष्ट्रपति निवास पुगेका थिए ।

त्यसअघि नै प्रधानमन्त्री ओलीले सांसदहरुको हस्ताक्षर बुझाएर फर्किएको बताइएको छ । ओलीले सबैभन्दा ठूलो दलको संसदीय दलको नेताका हैसियतमा बहुमत पेश गर्ने पत्र गएराति नै राष्ट्रपतिलाई बुझाएको बताइएको छ ।

प्रधानमन्त्री ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमालले केपी शर्मा ओलीले १ सय ५३ जना सांसदको समर्थनसहित प्रधानमन्त्रीमा दाबी गरेको ट्वीटरमार्फत गरेका छन् । जनता समाजवादी पार्टीको महन्थ–राजेन्द्र पक्षले बहुमत पु¥याउन आवश्यक पर्ने सांसदको हस्ताक्षर हिजै प्रधानमन्त्रीलाई बुझाइसकेको जनाएको छ ।

प्रतिक्रिया