हिउँ खेल्न लोभिएका आन्तरिक पर्यटक रूकुम पूर्वमा

नेपालखोज २०८१ फागुन १९ गते १८:१५

रूकुम पूर्व । हिउँ कसैको लागि रहर छ भने कसैको लागि कहर बनिदिन्छ । हिउँ हेर्न र खेल्न जानेहरूको लागि रहरको विषय हो, तर हिउँसँगै गुजारा गर्नेहरूको पीडा छुट्टै हुन्छ ।

लुम्बिनी प्रदेशको एक मात्र हिमाली जिल्ला रूकुम पूर्वमा वर्षमा एक÷दुईपटक अनिवार्य हिउँ परेकै हुन्छ । यस वर्ष पनि गत साता शुक्रबार र शनिबार हिमाली तथा उच्च पहाडी क्षेत्रमा हिमपात भयो भने तल्लो क्षेत्रमा वर्षा भयो । जिल्लाको सिस्ने, भूमे र पुथा उत्तरगङ्गा गाउँपालिकाको माथिल्लो क्षेत्रहरू हिमपात भएपछि सेतै भए ।

कालो पत्थरमा परिणत भइसकेको सिस्ने हिमाल सेताम्य भएको छभने पुथा हिमाललगायत धौलागिरि रेञ्ज पूरै सेताम्य छ । मध्यपहाडी लोकमार्गको लुकुम पातिहाल्ना खण्डको पाँच/सात किलोमिटर दूरीको मोटर यात्रामा हिउँसँग साक्षात्कार हुँदै गर्न सकिन्छ । रूकुम पूर्व–बागलुङ सिमाना पातिहाल्नाबाट उकालो चढेर चौँरी लेक र किलाचन लेकमा पुग्दा त्यहाँबाट देखिने सिस्ने हिमाल, पुथा हिमालको दृश्यसँगै सुन्दर ढोरपाटनको फाटले मानिसहरूलाई मन्त्रमुग्ध बनाउने गर्दछ ।

हिउँ परेसँगै आन्तरिक पर्यटकहरू लोभिने गर्दछन् । पातिहाल्नामा अहिले दैनिक हिउँ खेल्नेहरूको भीड लाग्ने गर्छ । यस क्षेत्रमा रूकुम पूर्वको विभिन्न ठाउँसहित रोल्पा, रूकुम पश्चिम, बागलुङ, दाङ, सल्यानबाट हिउँ खेल्न आउने गरेका छन् ।

कतिपय मानिसहरू पोखरा र बुटवलबाट समेत हिउँ खेल्न पातिहाल्नामा पुगेको होटेल व्यवसायी किस्मत घर्तीले बताउनुभयो । हिउँ परेको समयमा हिउँ खेल्न आउने मानिसहरूको जमघटले होटलमा भ्याइनभ्याइ हुने गरेको उनले सुनाए । ‘टाढाबाट आएका मानिसहरू बास बस्न खोज्छन्, होटेल व्यवसायी घर्तीले भने, ‘यो पातिहाल्नामा दुईवटा कटेज मात्र छन्, पाहुनाहरूलाई बास बसाल्न सकिने अवस्था छैन् ।’ तर हिउँ परेको समयमा आन्तरिक पर्यटकहरूको जमघटले यो क्षेत्रमा रौनकता थप्ने गरेको उनको भनाइ छ । रासस

प्रतिक्रिया