देउवाको पक्षमा गरेको हस्ताक्षरलाई मान्यता नदिन भन्दै ओली र ठाकुरले राष्ट्रपतिलाई पठाए पत्र

नेपालखोज २०७८ जेठ ७ गते २०:३५

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो दलका सांसदले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पक्षमा गरेको हस्ताक्षरलाई मान्यता नदिन भन्दै राष्ट्रपतिलाई पत्र पठाएका छन् ।

संसदीय दलको हैसियतमा प्रधानमन्त्री ओली र प्रमुख सचेतक विशाल भट्टराईले हस्ताक्षर गरेर पठाएको पत्रमा २६ जना सांसदलाई आफूहरूले कारबाहीको तयारी गरेको भन्दै उनीहरूको हस्ताक्षरलाई मान्यता नदिन उल्लेख गरिएको छ ।एमालेको माधव नेपाल पक्षका केही सांसदले देउवाको नेतृत्वमा सरकार बनाउन भन्दै हस्ताक्षर गरेका छन् ।

त्यस्तै जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र संसदीय दलका नेता राजेन्द्र महतोले पनि देउवालाई समर्थन नगर्ने पार्टीको निर्णय विपरीत गएका १२ जना सांसदको हस्ताक्षरलाई मान्यता नदिन आग्रह गर्दै राष्ट्रपति कार्यालयमा पत्र पठाइएका छन् ।

केही सांसदले व्यक्तिगत रूपमा पनि आफूहरूको हस्ताक्षर दुरुपयोग भएको भन्दै शीतल निवासमा पत्र पठाइरहेका राष्ट्रपतिका प्रेस सल्लाहकार टीका ढकालले जानकारी दिए ।

प्रतिक्रिया