‘मध्यरातमा प्रतिनिधिसभा विघटन हुनु असंवैधानिक र अलोकतान्त्रिक’

नेपालखोज २०७८ जेठ ८ गते १८:५१

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले मध्यरातमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गर्नु असंवैधानिक र अलोकतान्त्रिक भएको बताएका छन् ।

आज प्रेस विज्ञप्ति गर्दै उक्त कदम २०७७ पुस ५ को प्रतिनिधि सभा विघटनविरुद्ध ६७ दिनसम्म गरिएको संवैधानिक, कानुनी र राजनैतिक संघर्षको भावना एवं सर्वोच्च अदालतको संवैधानिक इजलासको २०७७ फागुन ११ गतेको फैसलाको विपरित देखिएको उनले बताए ।

सम्मानित सर्वोच्च अदालतको फैसलामा ‘अन्य विकल्प हुँदाहुँदै कसैको इच्छा वा आत्मनिष्ठ रुपमा देखेको आवश्यकताका आधारमा आवधिक चुनाव बाहेकको अवस्थामा नागरिकलाई समेत आर्थिक दायित्व पर्ने गरी प्रतिनिधि सभा विघटन गरिनु संविधानको मर्म र उद‍्देश्य नहुँदा त्यस्तो कार्य संविधान सम्मत हुँदैन’- विज्ञप्तिमा भनिएको छ ।

संविधानको धारा ७६ (५) अनुसार वैकल्पिक सरकार गठनका लागि वस्तुगत आधार पेश भइसकेको अवस्थामा प्रधानमन्त्री नियुक्त गर्ने विकल्प रहँदा रहँदै सार्वभौम प्रतिनिधि सभा विघटनको निष्कर्षमा पुग्नु कदापि स्वभाविक र संवैधानिक कदम मान्न नसकिने बताए ।

प्रतिक्रिया