मंगलबार, वैशाख १६, २०८२

सबै ज्वरोलाई कोभिड ठानेर परीक्षण गर्न सुझाव

नेपालखोज २०७८ जेठ ९ गते ८:४५

काठमाडौं । नयाँ भेरियन्टसहितको दोस्रो लहरको कोरोना भाइरस तीव्ररूपमा फैलिएकाले सामान्य स्वास्थ्य समस्या हुँदा पनि जाँच गर्न चिकित्सकहरुले सुझाव दिएका छन् ।

वाग्मती सफाइ महाअभियान र ‘हामी तपाइँको साथमा’ नामक परोपकारी अभियानले शनिबार बेलुका जुम प्रविधिबाट आयोजना गरेको ‘अहिलेको महामारीमा के गर्ने ? के नगर्ने ?’ विषयक छलफल कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन् ।

त्यसक्रममा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका डा सन्तकुमार दासले कोरोनाको दोस्रो चरणमा रुघा, ज्वरोमात्र आएकालाई पनि कोरोना पुष्टि भएकाले सजग हुन सुझाए । सामान्य स्वास्थ्य समस्या आउँदैमा कोभिड होइन किन जाँच गर्ने भनेर नबसी स्वास्थ्य जाँच गरी ढुक्क हुनुपर्ने उनको तर्क छ ।

ढिला अस्पताल पुग्ने बिरामीलाई बचाउन अप्ठ्यारो भएकाले सबै ज्वरोलाई कोभिड नै ठानेर परीक्षण गर्नुपर्ने सुझाव चिकित्सकको छ । छिटो परीक्षण गरे स्वास्थ्य सुरक्षाका विधि अपनाएर बिरामीलाई बचाउन सकिने चिकित्सकको अनुभव छ । बिरामीले चिकित्सकको सल्लाहमा मात्र औषधि खानुुपर्ने सुझाव दासले दिएका छन् ।

पहिलो चरणमा कोरोनाले युवालाई फरक पर्दैन भनी बेवास्ता गरेकोले दोस्रो चरणमा धेरै युवालाई समातिरहेको बताइन्छ । बालबालिका पनि अहिले धेरै प्रभावित हुन थालेका छन् । अझ तेस्रो चरणमा बालबालिकालाई धेरै असर गर्ने विज्ञको अनुमान सार्वजनिक भइरहेका छन् ।
जनसङ्ख्याको ७० प्रतिशतभन्दा बढी नागरिकलाई खोप नलगाएसम्म स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने सुझाव उनको छ । प्रशस्तमात्रामा सुत्न, यथेष्ट मात्रामा पानी पिउन पनि उनले सल्लाह दिएका छन् ।

छ दिनभन्दा बढी ज्वरो आए घरमा नबसी तत्काल चिकित्सककहाँ जान चिकित्सकले सुझाव दिएका छन् । दोस्रो लहर अझै १० दिनसम्म रहनसक्ने दासको भनाइ छ । दोस्रो चरणमा धेरैलाई निमोनिया भइरहेको छ ।

प्रतिक्रिया