राजनीतिक निकासको एउटै सूत्र निर्वाचन : बस्नेत

काठमाडौं । नेकपा (एमाले)का युवा नेता महेश बस्नेतले देशमा बढ्दो राजनीतिक अस्थिरतालाई निकास दिन निर्वाचन अपरिहार्य भएको बताएका छन् ।
जनताले एमालेलाई पाँच वर्ष सरकार सञ्चालनको जिम्मेवारी दिए पनि यसबीचमा पार्टीहरुबीच अस्वस्थ प्रतिस्पर्धा भएका कारण राजनीतिलाई सही मार्गमा ल्याउन निर्वाचन आवश्यक देखिएको बताएका हुन् ।
पूर्वमन्त्रीसमेत रहेका बस्नेतले आज सञ्चारकर्मीहरुसँग पार्टीभित्रै चलेको दूषित खेलको निकास दिने सुत्र नै निर्वाचन भएको बताए । प्रतिनिधिसभा विघटन प्रधानमन्त्री केपी शर्मा ओलीको रहर नभई बाध्यता भएको भन्दै सरकारको बचाउसमेत गरेका छन् ।
सरकारमा जान हतारो गरेका र सरकारको नेतृत्व लिने चाहना गरेकाहरुलाई मङ्सिरमा हुने निर्वाचनमा बहुमत ल्याएर सरकार बनाउन चुनौति दिएका छन् ।
संसदले बिजनेस नपाएर ‘थारो गाई’ जस्तै भएर रहनुभन्दा विघटन भएर निर्वाचनमा जानु नै उपयुक्त भएको उनको तर्क छ । “संसद थारो गाई जस्तै भयो, राजनीतिक निकास दिन नसक्ने, वैकल्पिक सरकार पनि दिन नसक्ने, कानून बनाउन नसक्ने भएपछि विकल्प नयाँ जनमत नै हो”, उनले भने, “दलहरु बीचको अन्तरविरोध, आपसी द्वन्द्व, अनेकौँ विकृति, विसङ्गति र सत्ताको खिचातानी बढाएर देशलाई राजनीतिक द्वन्द्वतिर लैजानुभन्दा नयाँ जनादेशमा जानु नै उत्तप विकल्प हो, प्रधानमन्त्रीले त्यहीँ बाटो रोज्नु भयो ।”
गत पुस ५ गते गरिएको प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले फागुन ११ गते फैसला गरी राजनीतिक निकासका लागि बाटो खोलिदिए पनि निकास नपाएको भन्दै नेता बस्नेतले पार्टी फोर्ने, विधि पद्दति उल्लङ्घन गर्ने-गर्न लगाउने, सत्ता लिप्साका लागि कीर्ते हस्ताक्षर गर्ने-गराउने, पार्टीको निर्णय विपिरीत जाने-जान लगाउने जस्ता आपराधिक गतिविधिका कारण निर्वाचनमा जानुपरेको बताए ।
जनतासँग मत माग्न नसक्ने, मत पाउने आशा नभएका, जनमत गुमेका, निर्वाचनमा पराजयको त्रास भएकाहरुले मात्र निर्वाचनको विरोध गरेको उनको आरोप छ ।

प्रतिक्रिया