मंगलबार, वैशाख १६, २०८२

हेटौंडा अस्पतालमा अक्सिजन उत्पादन सुरु

नेपालखोज २०७८ जेठ ९ गते १३:१७

मकवानपुर । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित हेटौँडा अस्पतालमा आइतवार (आज) देखि अक्सिजन उत्पादन सुरु भएको छ ।

हेटौँडा उपमहानगरपालिकाले अस्पतालमा अक्सिजन प्लान्ट निर्माण गरेर आजदेखि उत्पादन पनि सुरु गरेको हो । मेयर हरिबहादुर महतले अक्सिजन प्लान्टको उद्घाटन गरेका छन् ।

कोरोना सङ्क्रमित भएर अस्पतालमा उपचार गराइरहेका बिरामीका लागि अक्सिजन दिनकै लागि समस्या भएपछि तत्काल प्लान्ट स्थापना गरेर उत्पादन सुरु गरिएको मेयर महतले बताए ।

काठमाडाैं लैजानका लागि रक्सोल भन्सारमा रहेको अक्सिजन प्लान्ट उपमहानगरपालिकाको समन्वयमा हेटौँडा अस्पतालमा जडान गरिएको हो ।

अक्सिजन प्लान्ट ल्याउने व्यवसायीले तिरेको खरिद मूल्य ३८ लाख रुपैयाँ उपमहानगरपालिकाले दिने भएपछि अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिएको हो ।

अस्पतालमा जडान गरिएको प्लान्टबाट दैनिक १५ सिलिन्डर अक्सिजन उत्पादन हुनेछ । अहिले हेटौँडा अस्पतालमा ५४ जना कोरोना सङ्क्रमितको उपचार भइरहेको छ ।

सबै बिरामीलाई अक्सिजन दिएर उपचार भइहेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार तथा अस्पताल विकास समितिका अध्यक्ष राजेश प्रसाईँले बताए । उपमहानगरपालिकाको बिशेष पहलमा अक्सिजन प्लान्ट निर्माण भएपछी धेरै सहज भएको उनले बताए ।

प्रतिक्रिया