राष्ट्रिय राजनीतिमा प्रदूषित खेल खेलियो (भिडियोसहित)

नेपालखोज २०७८ जेठ ९ गते १६:४९

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिको स्वविवेकीय अधिकारमाथि कुनै पनि किसिमको उजुरी नलाग्ने बताएका छन् ।

आइतबार सरकारी निवास बालुवाटारमा प्रेस चौतारी आबद्ध पत्रकारसँगको अन्तर्क्रियामा प्रधानमन्त्री ओलीले राष्ट्रपतिलाई स्वविवेकीय अधिकार प्रयोग गर्ने व्यवस्था संंविधानले नै गरेको भन्दै उनले गरेका काममाथि कुनै उजुरी नलाग्ने बताएका हुन् ।

राष्ट्रपतिले गरेको निर्णयविरुद्ध मोर्चाबन्दी गरेर मुद्दा हाल्ने प्रयास भइरहेको खबर आफूले सुनेको भन्दै उनले जतिजनाले मुद्दा राखे पनि त्यसको अर्थ नरहने बताए ।

उनले संसदीय गणितमा फोहरी खेल भएको र सांसदहरु किन्ने र बिक्री हुने प्रवृत्ति छताछुल्ल भएको हुँदा पनि आफू भने संसद् विघटन नहोस् भनेर जसपाको र आफ्नो (नेकपा एमालेको) पत्र लिएर प्रधानमन्त्रीको दाबी गर्न राष्ट्रपतिकामा पुगेको बताए ।


पर्सनल डान्स गर्ने छुट छैन
प्रधानमन्त्री ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वैकल्पिक सरकार बन्न नदिने प्रयासमा फर्जी हस्ताक्षर लिएर, दूषित अभ्यास गरि, दूषित कागज राष्ट्रपति कार्यालयमा बुझाएको टिप्पणी गरे ।

आफूले दाबी गरेका ठाउँबाट पनि केही मान्छेको हस्ताक्षर सभापति देउवाले पनि लिएर गएपछि राष्ट्रपतिले आफ्नो दाबी प्रतिपनि विश्वास नगरेको उनले बताए ।

उनीहरुले कन्फ्युजन सिर्जना गरेकाले आफ्नो दाबीलाई राष्ट्रपतिले विश्वास गर्न नसकेको उनको तर्क थियो । उनले लोकतान्त्रिक व्यवस्थामा दलीय अनुशासन हुनुपर्ने भन्दै दलीय अनुशासनभन्दा बाहिर जाने छुट कसैलाई नभएको उल्लेख गरे ।

लोकतन्त्र अनुशासित , मर्यादित र सामूहिक व्यवस्था भएको भन्दै उनले बुद्धि र प्रतिष्ठाको मिसयुज गरेर बुद्धिजीवीहरुले पूर्वाग्रहका साथ संविधानको अपव्याख्या गरी संविधानमाथिको निष्ठामा आँच पुर्‍याउने काम गरेको टिप्पणी गरे ।

उनले भने, ‘दलीय अनुशासन तोडेर व्यक्तिगत नाच नाच्ने व्यवस्था होइन दलीय व्यवस्था । पर्सनल डान्सको कुनै अर्थ छैन ।’

कार्टुनप्रति आपत्ति
प्रधानमन्त्री ओलीले राष्ट्रिय राजनीतिलाई गलत दिशातिर मोड्ने काम कसैले नगर्न आग्रह गरे । लोकतन्त्रले अभिव्यक्ति स्वतन्त्रता दिएको र अहिले केही मिडियाले त्यही स्वतन्त्रताको दुरुपयोग गर्ने काम गरेको भन्दै उनले आपत्ति जनाएका छन् ।

उनले एक दैनिक पत्रिकामा छापिएको कार्टुनप्रति असन्तुष्टि जनाउँदै प्रेत भइसकेको राजसंस्थाको खल्तीमा गणतन्त्रको प्रतीकका रुपमा रहेको संस्थालाई राख्ने काम गरिएको बताए ।

उनले केही मिडियाले सरकारविरुद्ध मिसन पत्रकारिता नै सञ्चालन गरेको दाबी गरे । उनले लोकतन्त्रविरुद्ध अतिवादी शक्तिबाट निर्देशित हुने, अतिवादी शक्तिको लाचार छाया बनेर तीनको पछि पछि लाग्ने काम नगर्न सचेत गराए ।

लोकतन्त्र आएपछि वैचारिक ढंगले भेदभाव गरिएका घटनाको फेयरिस्त दिँदै उनले वर्तमान सरकार तानाशाही छ भनी प्रश्न गरे । उनले राज्यकोशको दुरुपयोग गर्ने, मुख मिठ्याउने र जिब्रो चाट्ने काम नगर्न पनि सबैलाई सचेत गराए ।

राष्ट्रिय राजनीतिमा प्रदूषित खेल खेलियो

प्रधानमन्त्री ओलीले राष्ट्रिय राजनीतिलाई प्रदूषित गर्ने खेल भइरहेको बताए । उनले लोकतान्त्रिक प्रणालीका मूल्य मान्यता र प्रक्रियाबाट राजनीतिलाई पदभ्रष्ट बनाउने र अलोकतान्त्रिक प्रक्रियाबाट राजनीतिको छिनोफानो हुनुपर्छ भन्ने अराजकतावादी सोचहरु हावी हुँदै गएको र सरका त्यसकिसिमका अलोकतान्त्रिक गतिविधिसँग लडिरहेको स्पष्ट पारे ।

उनले सरकार संविधानको सिर्जनात्मक प्रयोग गर्दै लोकतन्त्रको सही ढंगले उपयोग गर्ने, जनताका समस्या सम्बोधन गर्ने, सामाजिक सुव्यवस्था र सुशासन कायम गरी विकासको बाटोमा मुलुकलाई अघि बढाउने वर्तमान आवश्यकतामा केन्द्रित भएको बताए ।

कसले गरेको निर्वाचनमा सहभागी हुने ?

प्रधानमन्त्री ओलीले आफुलाई प्रजातन्त्रवादी भन्नेहरु पनि प्रचण्डपथ अंगिकार गरेर लोकतन्त्र विरोधी खेलमा लागेको टिप्पणी गरे । लोकतान्त्रिक सिध्याउन र हिंसाको बाटोबाट सत्ता कब्जा गर्न हिडेकाहरु त्यो संभव नभएपछि शान्ति प्रक्रियामा आएको र अहिले तीनैको सत्ता कब्जा गर्ने रणनीतिलाई आफु प्रजातन्त्र र लोकतन्त्र बादी भन्नेहरुले पनि साथ दिएको टिप्पणी प्रधानमन्त्री ओलीले गरे ।

वर्तमान झण्डै दुईतिहाईको हैसियत प्राप्त गरेर जनताको अभिमतबाट संविधान सम्मत ढंगले बनेको सरकार भएको भन्दै उनले लोकतन्त्र सिध्याउन हिडेकाहरुले सरकारको विरोध गरेको बताए ।

उनले नेपाली कांग्रेस उत्तेजना र आवेशमा प्रचण्डपथमा, प्रचण्डलाई गुरु मानेर अघि बढेको भन्दै उनले आवेश र उत्तेजनाको राजनीतिक नगर्न सभापति देउवालाई सुझाव दिए । उनले झण्डै दुई तिहाई को सरकारले गरेको निर्वाचनमा भाग नलिए कसले गरेको लिने भनी प्रश्न गरे ।

’कू’ भनेको के हो थाहा छ ?
लोकतन्त्रका विरुद्धमा हुदै आएका अनुचित कुराहरुको विपक्षमा नागरिक समाज पनि बोल्न नसकेको भन्दै प्रधानमन्त्री ओलीले नागरिक समाज र वुद्धिजीवीको भूमिका माथि प्रश्न गरे । केही व्यक्तिहरुले आफुले भनेजस्तो नहुँदा संविधान विपरित देख्ने गरेको भन्दै उनले कु भनेको के हो थाहा छ भनी प्रश्न गरे ।

प्रतिक्रिया