सर्वोच्चमा रिट लिएर जाने सांसदहरुको संख्या बढ्ने विपक्षी गठबन्धनको दाबी

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतमा रिट लिएर जाने सांसदहरुको संख्या १४९ भन्दा बढ्ने बताएका छन् । अध्यक्ष प्रचण्डले आईतबार सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिदैँ शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा समर्थन गर्दै हस्ताक्षर गर्ने १४९ सांसदहरु सर्वोच्च अदालतमा रिट हाल्न जाँदा संख्या नघट्ने बरु संख्या बढ्ने उनले दाबी गरे ।
उनले भने- ‘आज हामीले १४९ प्लस अरु केही साथीहरु पनि थपिनुभएको छ । रिटको तयारी भईराखेको छ । ड्राफ्ट अन्तिममा पुगेको छ, बेलुकासम्म त्यो टुंगिदैछ । फिजिकल्ली नै बहुमत उपस्थित भएर भोली हामी अदालतमा रिट दर्ता गर्न जाने अन्तिम तयारी भएको छ । तपाईहरु कोही कन्फ्युज नहुनुहोला, अस्ति १४९ मा हस्ताक्षर नगर्ने मध्येपनि केही सांसदहरु थपिनुभएको छ । घट्नुभएको छैन ।’
त्यस्तै, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सबैको हस्ताक्षर संकलन भइरहेको र भोली बिहान १० बजे रिट दर्ता गरिने बताए । नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले पनि आजै सबैले हस्ताक्षर गरीसकेको र बहुमत पुगिसकेको बताए । संख्या अझै बढ्ने पनि उनले बताए ।
नेपाली कांग्रेसका नेता गगन थापाले कांग्रेसको तर्फबाट आजै सबै जिल्ला र पालिकाहरुमा विपक्षी गठबन्धनका पाँच राजनीतिक दलहरु छलफल गरी अवस्था हेरी राजनीतिक प्रतिरोधका कार्यक्रमरु गर्ने निर्देशन दिने सहमती भएको बताए ।
नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले पनि राष्ट्रपतिले संविधानको धारा ७६ (५) अन्तरगतको सरकार बनाउन बहुमत सांसदको हस्ताक्षर दिदा पनि त्यसलाई वेवस्ता गरेको भन्दै संविधानको खुल्लम् खुल्ला उल्लंघन गरिएको बताए ।
नेकपा (एमाले) का नेता सोमप्रसाद पाण्डेले आफुहरु सकेसम्म नेकपा (एमाले)को एकताको पक्षमा रहेको बताए । उनले एमाले एकता गराउन अझैपनि आफुहरु लागिरहेकको बताए । नेता पाण्डेले अझैपनि एमाले एकताको सम्भावना टुटिनसकेको पनि बताए ।

प्रतिक्रिया