नक्कली स्यानिटाइजर उत्पादन गर्ने कारखानामा प्रहरीको छापा

काठमाडाैं । नक्कली स्यानिटाइजर उत्पादन गरी विक्रि वितरण गर्ने एक कारखानामा प्रहरीले छापा मारेको छ । अवैधानिक रुपमा चलाइरहेको र स्वास्थ्यको मापदण्ड विपरित उत्पादन गरिएको नक्कली स्यानिटाइजर उत्पादन गरी विक्रि वितरण गर्ने ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं. ४ इमाडोल, शितल हाइटमा रहेको कारखाना प्रहरीले छापा मारेको हो ।
महानगरीय अपराध महाशाखाको टोलीले कारखाना सञ्चालक आशिष प्याकुरेललाई नियन्त्रणमा लिएको छ । त्यस्तै कारखानाबाट तयारी अवस्थामा रहेको सेनिटाइजर, स्यानिटाइजर उत्पादनका लागि आवश्यक पर्ने कच्चा पद्धार्थ लगायतको सामग्रीहरु पनि नियन्त्रणमा लिइएको महानगरीय अपराध महाशाखाका वरिष्ठ प्रहरी उपरिक्षक चन्द्र कुवेर खापुङले जानकारी दिए ।
स्वास्थ्यका लागि प्रतिकुल र निम्न गुणस्तरको स्यानिटाइजर उत्पादन तथा विक्रि, वितरण भईरहेको सुचनाको आधारमा छापा मारिएको उनले बताए ।
एसएसपी खापुङले उत्पादित स्यानिटाइजर ल्याव टेस्ट गर्दा स्वास्थ्यका लागि अत्यन्तै हानिकारक र विशाक्त पाइएको पनि बताए । दोषी उपर कानुनी कारबाही अगाडी बढाइने उनले बताए ।
सो कारखाना लगायत मुख्यमुख्य डिलर र सप्लायरलाई पनि नियन्त्रणमा लिइएको उनले जानकारी दिए । प्रहरीले कारखानामा ३० हजार लिटर स्यानिटाइजर हुनसक्ने बताएको छ ।

प्रतिक्रिया