मंगलबार, वैशाख १६, २०८२

काेराेनाविरुद्धकाे खोप चुनाव अगाडि नै लगाइन्छ : प्रधानमन्त्री ओली

नेपालखोज २०७८ जेठ ९ गते १८:४१


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव अगाडि नै सबै जनतालाई खोप लगाईसक्ने ढंगले सरकारले काम गरिरहेको बताएका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार पत्रकार सम्मेलनमा अन्तरक्रिया गर्दै प्रधानमन्त्री ओलीले चुनावी वातावरण विगार्नेहरुले खोप र सार्वभौमसत्ताको प्रयोगका बारेमा जनतामा भ्रम श्रृजना गर्ने काम गरेको टिप्पणी गरे ।

यसलाई उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र आफ्नै पार्टीका नेता माधव कुमार नेपालको नाम लिएर उनीहरुले चलाएको ‘सेन्टिमेन्टल ब्लाकमेलिङ’ भनी टिप्पणी गरे ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहालले लोकतन्त्रलाई पराजित गर्न नसकेपछि प्रणाली भित्रै छिरेर लोकतन्त्रलाई हुडल्ने काम गरेको दाबी प्रधानमन्त्रीले गरे ।

उनले नेपाली जनताले राष्ट्रपति कार्यालयमा भएको अनुशासनहिन, अराजकता र मर्यादाहिन क्रियाकलापमा संलग्न, दलिय प्रणालीलाई उलंघन गर्ने र अरु पार्टीमा विग्रह पैदा गरेर आफ्नो दुनो सोच्याउन खोज्ने अस्वस्थ्य प्रवृत्ति र तीनका अगुवाको मुल्यांकन गरिरहेको बताए ।

उनले आफ्नो सार्वभौमसत्ताको सही ढंगले प्रयोग गर्नुपर्ने बेलामा सेन्टिमेन्टमा ल्याएर सार्वभौमसत्ता प्रयोग गर्नबाट वञ्चित गराउने काम गर्नु ‘सेन्टिमेन्टल ब्लाकमेलिङ’ भएको बताए ।

प्रतिक्रिया