सीमा नाकामा भिडन्त : एक सशस्त्र प्रहरी र ८ भारतीय व्यापारी घाइते

रासस २०७८ जेठ १० गते ९:१७
फाइल फोटो

महोत्तरी । जिल्लाको मटिहानी नगरपालिका–८ स्थित नेपाल–भारत सीमा नाकामा गए राति भीडन्त हुँदा एक सशस्त्र प्रहरी र आठ भातरीय व्यापारी घाइते भएका छन् । मटिहानीमा अवस्थित २ नं बोर्डरमा रहेको ढाट (घेराबेरा) र कोरोना परीक्षणका लागि बनाइएका सहायता कक्षसमेत भारतीयहरुले तोडफोड गरी हटाएका छन् ।

बोर्डर आउट पोष्ट (बिओपी) मटिहानीका प्रहरी निरीक्षक बलराम गौतमका अनुसार गए राति करिब ८ बजे ५०÷६० भारतीयले मदिरा खाएर एक्कासि २ नं बोर्डरमा खटिएका प्रहरीहरुमाथि ढुङ्गामुढा गरेका थिए ।

करीब आधा घण्टासम्म भारतीयहरुले गरेको ढुङ्गामुढाबाट ड्युटीमा खटेका सशस्त्र प्रहरी जवान विवेक ढकालको टाउको फुटेको छ भने उनले लगाएको पोशाक (चुस्ता) समेत ढुङ्गामुढा गर्नेहरुले च्यातिदिएका छन् ।

यता भारतीय व्यापारीका अनुसार बिओपी मटिहानीका प्रहरी निरीक्षक गौतमले कोरोनाको अवधिमा पनि आफूहरुसँग मोटो रकम लिएर लाइन (तस्करी गर्ने इजाजत) दिएकामा गए राति ८ बज्नासाथ भारतबाट आलु, प्याज, चामललगायतका वस्तुहरु नेपाल ल्याउन शुरु गरेका व्यापारीमाथि बोर्डरमा खटिएका सशस्त्र प्रहरीले रोक लगाउँदै लाठी चार्ज गरेका थिए ।

सशस्त्र प्रहरीको लाठी चार्जबाट आठ भारतीय व्यापारी घाइते भएका छन् । उनीहरुले आफूहरु महिनाबारी (महिनामा एकै चोटी) रकम दिएर लाइन लिएकामा सशस्त्र जवानहरुले सीमामा रोकेर थप पैसा माग्न खोजेको र नदिँदा कुटपिट गरेको बताएका छन् । त्यसैगरी स्थानीय प्रत्यक्षदर्शीहरुले पनि सशस्त्र प्रहरीले बल प्रयोग गरेको र भारतीय व्यापारीहरुलाई कुटपिट गर्न थालेपछि भारततर्फबाट एक हुल मानिस आएर सशस्त्र प्रहरीमाथि पनि ढुङ्गामुढा गरेको बताएका छन् ।

रासस

रासस

रासस नेपालको राष्ट्रिय समाचार एजेन्सी हो । नेपालखोज राससको आधिकारिक ग्राहक पनि हो ।

प्रतिक्रिया