संसद् विघटनविरुद्ध विपक्षी गठबन्धनले गर्यो सर्वोच्चमा रिट दायर

काठमाडौं । विपक्षी दलहरुको गठबन्धनले संसद् विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेको छ ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल पक्ष र जनता समाजवादी पार्टीको डा. बाबुराम भट्टराई–उपेन्द्र यादव पक्षका सांसदहरुको तर्फबाट सर्वोच्चमा रिट दायर गरिएको हो । हिजो नै रिट दर्ता गर्ने भनिए पनि तयारी नपुगेपछि आजका लागि सारिएको थियो ।
रिटमा संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्तिका लागि कांग्रेस सभापति शेरबहादुर देउवाको दाबी वैधानिक रहेको भन्दै प्रधानमन्त्री नियुक्तिका लागि परमादेश माग गरिएको छ ।
देउवाको समर्थनमा १४९ र प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा १५३ सांसदको हस्ताक्षर रहेको भन्दै प्रधानमन्त्रीमा दाबी गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरी मध्यावधि चुनाव घोषणा गरेकी थिइन् ।
प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले दोस्रो पटक प्रतिनिधिसभा विघटन गरेपछि त्यसविरुद्ध कानूनी र राजनीतिक लडाइँ लड्ने विपक्षी दलले बताएका थिए ।
रिट दायरका लागि गठबन्धनमा रहेका सांसहरुसहित शीर्ष नेताहरू सर्वोच्च अदालत गएका छन् । कांग्रेस संसदीय दलको कार्यालयमा कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एमाले माधवकुमार नेपाल समूहका नेताहरुबीच भएको छलफलपछि उनीहरू सर्वोच्च गएका हुन् । सर्वोच्च पुग्ने टोलीमा शेरबहादुर देउवा, पुष्पकमल दाहाल, माधवकुमार नेपाल, उपेन्द्र यादवलगायत नेताहरू छन् ।

प्रतिक्रिया