तेन्जी शेर्पा १८ औँ पटक सगरमाथाको चुचुरोमा पुग्न सफल

सोलुखुम्बु । जिल्लाको खिजिदेम्बा गाउँपालिका–९ खोलाखर्कका तेन्जी शेर्पा १८ औँ पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुग्न सफल भएका छन् ।
सुमी ट्रेकमार्फत सगरमाथा आरोहणमा गएका क्लाइम्बिङ गाइड सात आरोहीको नेतृत्व गर्दै शिखरमा पुगेको कम्पनीले जनाएको छ । सोही कम्पनीमार्फत सगरमाथा आरोहणमा भएका लाक्पा दावा शेर्पाका अनुसार उक्त टोली आज बिहान ४ः३० बजे शिखरमा पुग्न सफल भएको हो ।
अमेरीकन नागरिक डोन र एरिक तथा बेलायती नागरिक ज्याक सहित उनीहरुका ४ जना सहयोगी शेर्पा क्लाइम्बिङ गाइड सगरमाथाको चुचुरोमा पुगेर फर्केको आधारशिविरबाट क्लाइम्बिङ गाइड लाक्पा दावाले जानकारी दिए । उनिहरु अब तीन दिनमा आधारशिविर आईपुगेर काठमाण्डौँ फर्कने बताइएको छ ।
आइतबार अनुकूल मौसम हुँदा करिब १५० आरोही शिखरमा पुगेका थिए भने आज साउथ समिटमा अत्यधिक हावाका कारण केही आरोही मात्रै शिखरमा पुगेको पर्यटन विभागका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए । आइतबार आरोहण गर्न नसकेका केही समूहका आरोही मात्र शिखर पुगेको भएपनि एकिन विवरण भन्न नसकिने उनको भनाइ छ ।
जोखिम न्यूनिकरणका लागि एक अर्काबीच भेटघाट नहुँदा विवरण लिन नसकिएको हो । त्यस्तै सयौ आरोही अनुकुल मौसमको पर्खाइमा क्याम्प २ मा रहेको बताइएको छ । तर केही दिन आरोहणका लागि मौसम अनुकूल नदेखिएको सम्पर्क अधिकृत श्रेष्ठले बताए । अब मे २८ र २९ मा आरोहण अनुकूल मौसम हुनसक्ने भएकाले सोही समयको पर्खाइमा आरोही रहेको बताइएको छ ।

प्रतिक्रिया