विपक्षी गठबन्धनका शीर्ष नेताबीच आगामी रणनीति तय गर्ने विषयमा छलफल

काठमाडौं । विपक्षी गठबन्धनका शीर्ष नेताहरू बीचमा आगामी रणनीति तय गर्ने विषयमा छलफल भएको छ ।
संसद पुन:स्थापना र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्ने आदेशको माग गर्दै सर्वोच्चमा रिट दायर भएको भोलि पल्ट अर्थात आज मंगलबार शीर्ष नेताहरुसँगै कानूनविदहरूलाई समेत राखेर बैठक बसेको हो ।
बैठकमा रिट दायरपछिको रणनीतिका विषयमा छलफल केन्द्रित भएको बताइएकाे छ । छलफलमा सर्वोच्चमा दायर भएको रिटमा कतिपय सांसदहरूको ठेगानामा त्रुटि भएको र त्यसलाई सच्याउने लगायतका बारेमा छलफल भएको जनाइएकाे छ । बैठकमा सहभागी माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नमिलेका ठेगाना मिलाउने विषयमा प्राविधिक छलफल भएको बताए ।
छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवा, महामन्त्री पूर्णबहादुर खड्का, सचेतक पुष्पा भुसाल, रमेश लेखक, राधेश्याम अधिकारी, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, सचेतक देवप्रसाद गुरुङ, नेकपा एमालेबाट कारवाहीमा परेका माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल सहभागी थिए । बैठकमा अधिवक्ता मुक्ति प्रधान समेत सहभागी थिए ।

प्रतिक्रिया