नेपाल एक चीन नीतिमा प्रतिवद्ध छ : प्रचण्ड

नेपालखोज २०७८ जेठ १२ गते १५:४१

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले नेपालको हिमाल, नदी र संस्कृतिसँग दुई देशबीचको सम्बन्ध जोडिएको उल्लेख गर्दै नेपाल एक चीन नीतिमा प्रतिवद्ध रहेको पनि बताएका छन् ।

बुधबार चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभागले नेपाल र चीनका राजनीतिक दलहरुसँगमहामारीको बेला संयुक्त अघि बढ्ने सम्बन्धमा आयोजना गरेको भर्चुअल बैठकमा बोल्दै दाहालले यस्तो बताएका हुन् । साथै उनले महामारी नियन्त्रणका लागि चीन सरकारले नेपाललाई मेडिकल सामाग्री उपलब्ध गराउनु खुशीको कुरा भएको बताएका छन् ।

त्यस्तै, उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोभिड– १९ संक्रमणको सम्बन्धमा चीन सरकारले दिएको सहयोगको निम्ति आभार व्यक्त गरेका छन् । पोखरेलले चीन सरकारले नेपालका लागि स्वास्थ्य सामाग्री, भ्याक्सिन र अक्सिजन प्लान्ट सहयोग गरेकोप्रति आभार तथा धन्यवाद व्यक्त गरेका हुन् । चिनले कोभिडविरुद्धको भ्याक्सिनमा चीनले प्राप्त गरेको सफलताको पनि उनले प्रशंसा गरे । उपप्रधानमन्त्री पोखरेलले कोभिड– १९ रोकथाम तथा नियन्त्रणका लागि नेपाललाई अझै सहयोग चाहिएको बताए ।

त्यस्तै, नेपाली कांग्रेसका नेता नारायण खड्काले कोभिड १९ महामारीका कारण अक्सिजन, अक्सिजन सिलिण्डरलगायत स्वास्थ्य सामाग्री अभाव भईरहेका बेला नेपाललाई स्वास्थ्य सामाग्री सहयोग गरेकामा धन्यवाद दिए । उनले महामारी नियन्त्रणमा कसरी लिने भन्ने कुरा चीनबाट नेपालले सिक्नुपर्ने बताए ।

त्यस्तै, जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले दुई देशबीच असल मित्रताको सम्बन्ध रहेको बताए । चीनले सधै नेपालको राजनीतिक स्थायित्व र विकास चाहेको उल्लेख गर्दे महामारीको बेलामा उपलब्ध गराएको खोपलगायत स्वास्थ्य सामाग्रीले नेपालीको जीवन रक्षा गर्न सघाउ पुग्ने विश्वास व्यक्त गरे ।

राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले कोभिड १९ को संक्रमण नियन्त्रणका लागि खोपलगायत स्वास्थ्य सामाग्रीमा चीन सरकारले गरेको सहयोगको प्रसंशा गरे । उनले पछिल्लो पटक चीन सरकारले उपलब्ध गराएको अक्सिजन सिलिण्डरका कारण मात्रै पनि हजारौँ नेपालीको जीवन रक्षा भएको बताए ।

उनले लकडाउनको समयमा पनि राष्ट्रिय गौरवका आयोजनाहरुको काम कम प्रभावित होस् भन्नेमा ध्यान पुर्‍याएको र काम जारी राखेको बताए । चीनले अघि सारेको बिआरआई प्रोजेक्टमा नेपालले हस्ताक्षर गरेको तीन वर्ष वितिसकेको उल्लेख गर्दै उनले अब यसको कार्यान्वयनमा जानुपर्ने बेला आएको बताए ।

प्रतिक्रिया