बिहीबार, वैशाख २०, २०८१

गिद्धको ‘क्याटवाक्’ !

प्रमोद प्रधान २०७८ जेठ १५ गते ८:००

रङ्गमञ्चको पर्दा खोलिएको छ, र
मञ्चन हुँदै छ नाटक–
गिद्धको ‘क्याटवाक्’ !
दर्शक–दीर्घा चुपचाप छ र
हेरिरहेको छ उत्सुकतापूर्वक
एक टकले – एकोहोरो –
गिद्धको ‘क्याटवाक् !

(दृश्य : एक)
माथि-माथि उडिरहेका छन्
एक जोडी गिद्ध
र, खोजिरहेछन् भोजन ।
देखेर कुनै निरीह प्राणी
झम्टेर द्रूत गतिमा आक्रमण गर्दै छ
केही क्षणमै सकिएको छ आयुसँगै
निरीह प्राणीको शरीरका सबै मासु ।
यतिखेर रङ्गमञ्चमा
फगत् देखिएको छ एउटा कङ्काल !
सिर्फ एउटा कङ्काल !!

(दृश्य : दुई)
पर्दा पुनः खोलिएको छ,
अब भने एक जोडी गिद्ध
टेकेर सबै विधि विधान
अनि संविधानको पुस्तक
गरिरहेछ ‘क्याटवाक्’ !
अगाडि फर्कन्छन् : एउटा पाना उध्रिन्छ
पछाडि फर्कन्छन् : अर्को पाना च्यातिन्छ
अलिक अघि आउँछन् : धाराहरू खारेज हुन्छन्
अलि पछि सर्छन् : उपधाराहरू बिलाउँछन्
पल्टाउँदा–पल्टाउँदै संविधानको पुस्तकका पानाहरू
अन्ततः च्यातिन्छ धुजाधुजा भएर पुस्तक
क्याटवाक् गर्दै एक जोडी गिद्ध
सगौरव घोषणा गर्छ आफ्नो विजयको !
दर्शक दीर्घाका अरिङ्गालहरू भने
जोडजोडले ताली पिटिरहेछन् ।
उफ्रीउफ्री खुसी मनाइरहेछन् ।।

(दृश्य : तीन)
ठीक त्यसैबेला,
रङ्गमञ्चमा प्रवेश गरेको
‘टाउटे’ले उडाएर
आर्यघाटमा पुर्याइदिएका छन्
संविधानका च्यातिएका पानाहरू !
देशकै सबैभन्दा ठूलो ‘बनहाकिम’को आदेशले
आर्यघाटमा जम्मा गरिएको
दाउराको थुप्रोमा अड्किएका छन् अहिले ती पानाहरू !
कसले कतिखेर आगो लगाई दिनेहुन्
थाहा छैन ।

(दृश्य : चार)
यता रङ्गमञ्चमा जम्मा भएका
अरिङ्गालहरू भने
अझै नाचिरहेछन्,
अझै खुसी मनाइरहेछन्,
त्यही नृत्य र खुसीबीच
एक जोडी गिद्धको क्याटवाक्
निर्विघ्न र निर्वाध चलिरहेछ !
चलिरहेछ !!
चलिरहेछ !!!

प्रतिक्रिया