शुक्रबार, वैशाख १४, २०८१

मिलन समीरको मृत्यु

मिलन समीर २०७८ असोज ९ गते १०:०८

अहिले भर्खरै पुष्टि गरिएको हुनेछ –
मिलन समीरको असामयिक मृत्यु भएको
अपुष्ट तर साच्चिकै सुखद समाचारको ।

व्यस्त शहरको बीच बाटोमा
बेवारिसे जस्तै भेटिएको हुनेछ –
मिलन समीरको मृत शरीर
सोही शरीरमा पहिरिएको
पुरानो कमेजको गोजीबाट
बरामद गर्न सफल भएको हुनेछ –
ड्युटीमा खटिएको प्रहरी टोलीले
केही थान अधुरा – अपुरा कविताहरु ।

अहिलेसम्म एक्लै बाचिरहेको
ज्युदो मिलन समीरको मृत शरीर
घेरिएको हुनेछ – असंख्य मानिसको भीडले
हेरिएको हुनेछ – अत्यन्तै उत्सुक आँखाहरुले
सोचिएको हुनेछ – कोण – प्रतिकोणबाट
व्यक्त गरिएको हुनेछ – विभिन्न धारणा …
दिक्कै पारिरहेको थियोे , ठिकै भयो
बल्ल खायो , स्वाद पायो भनेको सुनिनेछ –
कसै – कसैले
किन मर्यो ? कसरी मर्यो ? भन्दै हुनेछन् – कोही
जिन मर्यो ? जसरी मर्यो ?
कसलाई किन चाहियो ? भन्दै हुनेछन् – कसैले ।

कोही डाको छोडेर रुदै गइरहेको देखिनेछ
कोही साच्चिकै खुशी भैरहेको देखिनेछ ।

हड्डी हासिरहेको प्रिय दुश्मन
मेरो मृत लास नजिकै आएको हुनेछ
र , बगाइरहेको हुनेछ – गोहीको आँसु ।
अहिलेसम्म असहयोग बाहेक अरु केही नगरेको
बलेसी जोडिएको मेरो छिमेकी
अहिलेसम्म साध मिच्ने काम मात्रै गरिरहेको
साध जोडिएको मेरो सँधियार
जो आजीवन मेरो नजिक देखै परेनन्
उनीहरुले नै सुम्सुम्याइरहेका हुनेछन् – मेरो शिर
र , गरिरहेका हुनेछन् – विशेष सहयोगको घोषणा
रोइरहे झैँ गरिरहेका हुनेछन् – बगाएर हर्षका बलिन्द्रधारा आँसु !

मुट्ठी उठाइरहेको हुनेछ – अहिलेसम्म पनि
इन्क्लाब जिन्दावाद भन्ला झैँ देखिनेछ –
खुलै रहेको मेरो मुखले
न्याय – अन्याय छुट्याएर हेरिरहे झैँ लाग्नेछ –
खुला दुई आँखाहरुले ।

मेरो असामयिक मृत्युपश्चात्
चिन्ता लिनेहरु अधिक हुनेछन्
मेरो असामयिक मृत्युको भन्दा पनि
आफू अत्यन्तै व्यस्त भइरहेको बेला
मलामी जानैपर्ने बाध्यता भयो भन्ने सन्दर्भमा !

जस्तो टोपी ढल्काएर लगाइरहेको हुन्छ ,
ठ्याक्कै दुरुस्तै – उस्तै मनमस्तिष्क भएको
दाजुभाइको नाममा कलङ्कित भाइमारा कुपात्र
तथाकथित नेताजी भनाउदो मर्न नसकिरहेको मुन्छे
जसले बाचुन्जेल दिनुसम्म दु:ख दिएर सताइरहेको थियोे
उही आउनेछ – पुरानो पार्टीको मैलो झण्डा ओढाउन
र , एक मिनेट मौनधारण गरिसकेपछि
सुनाउने छ – केहीबेर बकम्फुसे भाषण
अनि दिनेछ – मेरो बारेमा हुँदै नभएको गफ
उस्तै परे गर्न समेत बेर लगाउदैन
मेरो असामयिक मृत्युमा आफू बिक्षिप्त भएको नाटक ।

जसलाई सबैभन्दा बढी समय
दिइरहेको थिए – बाचुन्जेल मैले
उसैसङ्ग हुनेछैन –
मेरो लास जलेर खरानी होउन्जेल
पर्खेर बस्ने फुर्सद चित्ताको छेउमा … !

स्तब्ध भइयो भन्नेछन् – सुने जतिका सबैले
सम्झिने छन् – बाकी अरुले तेह्रौ दिनसम्म
भेट्न आउने छन् – एकैछिन् फुर्सद निकालेरै भए पनि
त्यसपछि फर्केर गएसङ्गै बिर्सिने छन् – सधैंका लागि
र , हराउने छ – क्रमशः मिलन समीरको अस्तित्व ।

अहिलेसम्म पनि मर्दै – नमरेको मान्छे
पहिलोपटक परिणत भएको हुनेछ – मृत लासमा
देखिएको हुनेछ – हरेक मान्छेको असली चरित्र
र , लेखिएको हुनेछ – अनौठो आवरणपृष्ठमा
अझै अनौठो स्वैर – काल्पनिक जीवन्त कविता !

प्रतिक्रिया