आइतबार, माघ ६, २०८१

स्वार्थी घामको खोजी

बिमल बैध्य २०८१ मंसिर १ गते ८:४८

घाम डुब्दै गरेको साँझ
मैले क्षितिजलाई सोधें
रातमा कहाँ बाँस बस्छ घाम !
उसले भन्यो,
म सँग त क्षणिक सम्मिलन मात्र हो
फुत्केर जान्छ
मेरै आँखा अघिबाट,
उभिरहेका पहाडहरू साक्षी थिए
सोधे पहाडहरूलाई पनि
पहाडहरूले भने
घाम डुब्न थालेपछि
आफ्नै अनुहारमा कालो पोतिन्छ
र आफ्नै उचाइलाई देख्न छाड्छौं
कहाँ देख्नु र घाम !
म पनि डाँडामा उभिएर
उहीँ क्षितिज नियाल्दै थिए
जहाँबाट घाम ओर्लिदै थियो
हेर्दाहेर्दै पिलन्धरे घामले
मलाई अँध्यारोमा छोडेर
आफ्नै बाटो उज्यालो बनाउदै
लुसुक्क अघि लाग्यो,
रातको काहालीमा
आज सम्म म
भोलि साँझ अस्ताउने
त्यही स्वार्थी घामको खोजी गरिहेको छु ।

Advertisement

प्रतिक्रिया