नेपालमा ‘यास’ चक्रवातको असर कायमै : आज पनि वर्षा जारी, सतर्क रहन आग्रह

काठमाडौं । नेपालमा ‘यास’ चक्रवातको असर कायमै रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । चक्रवातको असररहँदा मुलुकका विभिन्न स्थानमा आज पनि वर्षा जारी छ ।
‘यास’ चक्रवात पश्चिमउत्तर–पश्चिम सर्ने क्रममा कमजोर भएको महाशाखाले जनाएको छ । तथापि त्यसबाट बनेको न्यून चापीय क्षेत्रको प्रभावले अहिले पनि देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो प्रदेश २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा भीषण वर्षाको सम्भावना रहेकाले सतर्क रहन महाशाखाले आग्रह गरेको छ। तीन दिनदेखिको लगातारको वर्षाले गण्डकी प्रदेशको विभिन्न जिल्लामा पहिरो गएको छ ।
निरन्तरको वर्षासँगै आएको पहिरोले बागलुङको जैमिनी नगरपालिका वडा नं. १० राङखानीको सिर्जना टोलका अशोक बिक र रविलाल बिकको घर जोखिममा परेको छ । तीन दिनदेखि वर्षा भइरहेकाले दुवै घर जोखिममा रहेको स्थानीय बताएका छन्।
लगातार वर्षा भइरहेकाले खोला तथा खहरेमा बाढी आउन सक्ने भन्दै सतर्क रहन अपिल गरिएको छ । निरन्तरको वर्षाले पानीको सतह बढ्ने भएकाले सतर्क रहन बाढी पूर्वानुमान शाखाले अनुरोध गरेको हो ।

प्रतिक्रिया