राष्ट्रपति र प्रधानमन्त्रीको गलत भूमिकाले गणतन्त्र संकटमा पर्‍यो : सिंह

नेपालखोज २०७८ जेठ १५ गते ९:५४

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले राष्ट्रपति र प्रधानमन्त्रीकै गलत भूमिकाका कारण अहिले गणतन्त्र, संघीयता र समावेशिता नै संकटमा परेको बताएका छन् ।

गणतन्त्र दिवसका अवसरमा सामाजिक सन्जालमार्फत शुभकामना दिँदै उनले नेपाली जनता कोरोना महामारीमा रहेका बेला वर्तमान सरकारको प्राथमिकतामा जनताको जीवनरक्षाको विषय नपरेको आरोपसमेत लगाए । ‘आज जेठ १५ । नेपाली जनताको लामो संघर्ष र बलिदानीको जगमा गणतन्त्र घोषणा भएको दिन । गणतन्त्र दिवस मनाइरहँदा आज हामी एकातिर कोरोना भाइरसको संक्रमणसँग जुधिरहेका छौं, अर्कोतिर गणतन्त्रमार्फत संस्थागत हुँदै गरेको संविधान माथिको प्रहारविरुद्ध संघर्षमा उत्रनु परेको छ,’ उनले भनेका छन्, ‘गणतन्त्रमार्फत जनताका छोराछोरी देशको अभिभावक बनायौं । तर, आज राष्ट्रपति र प्रधानमन्त्रीकै गलत भूमिकाका कारण गणतन्त्र, संघीयता, समावेशीता नै संकटमा परेको छ । नेपाली जनता कोरोना महामारीमा रहेका बेला वर्तमान सरकारको प्राथमिकतामा जनताको जीवन रक्षाको विषय परेन ।’

कांग्रेस नेता सिंहका अनुसार संविधानको पालक (राष्ट्रपति) र कार्यान्वयनको मूल दायित्व रहने प्रधानमन्त्रीका पछिल्ला असंवैधानिक कदमले देशलाई अनिश्चयको अँध्यारो सुरूङतर्फ धकेलेको छ । ‘हिजो गणतन्त्रका लागि लडेका सबै शक्ति पुनः एकपटक जनताको मतबाट निर्वाचित प्रधानमन्त्रीको स्वेच्छाचारी कदमकाविरूद्ध गणतन्त्र, संविधान र संसदको रक्षार्थ राजनीतिक र कानुनी रूपमा प्रतिवादमा उत्रिएका छौं । निश्चित छ, गणतन्त्र र परिवर्तनका एजेन्डा विरोधी शक्तिलाई नेपाली जनताले छिट्टै परास्त गर्नेछन्,’ उनले भनेका छन् ।

उनले अक्सिजनको सिलिन्डर खोजिरहेका, अस्पतालमा शय्या अभावमा छट्पटाइ रहेकाहरूलाई मतपत्र थमाउँछु, भन्ने अविवेकी शासकको जति निन्दा गरे पनि कम हुने बताए । ‘यो महामारीको बेलामा हामीलाई जनताको जीवन बचाउन होइन मत माग्न जाऊ भन्नु कुन मानवीयताले दिनसक्छ ? आज गणतन्त्र दिवसका दिन हामीले फेरि एकपटक, लामो संघर्षको प्रतिफल संविधानमाथि नै प्रहार गर्नेहरूलाई विदा गर्ने संकल्प गरौं । सबैमा गणतन्त्र दिवसको शुभकामना ।’

नेता सिंहले कोरोना महामारीबाट बच्न र असंवैधानिक कदमको कडा प्रतिवाद गर्न सबैमा अपिलसमेत गरेका छन् ।

प्रतिक्रिया