राष्ट्रपतिले भनिन्- लैंगिक समानतायुक्त राष्ट्र निर्माणमा प्रेरणा मिलोस्

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले तेस्रो राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेकी छन् ।
उनले सामाजिक सोच, शैली, प्रथा र प्रचलनमा सकारात्मक परिवर्तनद्वारा नेपाली महिलाको सुरक्षा, सम्मान र हकअधिकार सुनिश्चित गरी लैंगिक समानतायुक्त राष्ट्र निर्माण गर्न सबैलाई प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गरेकी हुन् ।
राष्ट्रपति भण्डारीले २०६३ जेठ १६ गते तत्कालीन पुन:स्थापित प्रतिनिधिसभाले महिलाका अधिकारसम्बन्धी महत्त्वपूर्ण चारवटा ‘विशेष प्रस्ताव’ पारित गरेको उल्लेख गर्दै शुभकामना सन्देशमा भनेकी छन्, ‘नेपाली महिलाको अधिकारलाई कानुनी संरचनाद्वारा सुनिश्चित गर्ने आधार संसद्बाट निर्माण गरिएको दिनको स्मरणस्वरूप जेठ १६ गतेलाई राष्ट्रिय महिला अधिकार दिवसका रूपमा मनाउन थालिएकामा मलाई खुसी लागेको छ ।’

प्रतिक्रिया