मंगलबार, वैशाख ११, २०८१

गैरआवासीय नेपालीबीच ‘एनआरएन द सिंगर’

नेपालखोज २०७८ जेठ १६ गते १२:४७

काठमाडौं । विश्वभरी छरिएका नेपालीहरुको गायन प्रतिभालाई विश्वभर स्थापित गर्ने उद्देश्यका साथ गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सांगीतिक रियालिटी शो ‘एनआरएन द सिंगर’ प्रारम्भ गरेको छ ।

हाललाई अनलाइन संचालन हुने यो प्रतिस्पर्धा २१ जुन देखि सुरू हुने बताइएको छ । जसमा नेपालका साथै सार्क मुलुक बाहेक अन्य मुलुकमा छरिएर रहेका १५ वर्षभन्दा माथिका नेपालीहरुले भाग लिन पाउने छन् ।

यो प्रतियोगिताको निर्णायकमा वरिष्ठ संगीतकार शम्भुजित बाँस्कोटा, गायक शम्भु राई, गायिका शर्मिला बर्देवा तथा एनआरएनएका पूर्व अध्यक्ष जीवा लामिछाने रहेका छन् ।

एनआरएनएका अध्यक्ष कुमार पन्तले शनिवार कार्यक्रमको घोषणाका अवसरमा बोल्दै भाषा, साहित्य र संस्कृति नै गैरआवासीय नेपालीहरुको मूल पहिचान भएकाले यो कार्यक्रम आफ्नो प्राथमिकतामा रहेको बताए ।

यसैगरि निर्णायक एवं वरिष्ठ संगीतकार शम्भुजीत बाँस्कोटाले यो कार्यक्रमबाट नयाँ र राम्रा प्रतिभा जन्मिने विश्वास व्यक्त गरे। भर्चुअल माध्यमबाट संचालन हुने यो प्रतियोगिताको फाईनलमा भने प्रत्यक्ष प्रतिस्पर्धा गराईनेछ ।

विश्वब्यापी महामारिका कारण प्रतियोगिता अनलाईन संचालन गर्न लागिएको हो भने महामारिको स्थिती हेरि फाइनल हुने स्थान तय गरिने बताइएको छ ।

प्रतिक्रिया