शुक्रबार, वैशाख १४, २०८१

विन्ध्यवासिनीमा नवदुर्गा महोत्सव हुँदै

नेपालखोज २०७९ भदौ ३१ गते १३:२५

पाेखरा । विन्ध्यवासिनी मन्दिरमा नवदुर्गा महोत्सव २०७९ हुने भएको छ । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिको आयोजनामा असोज १० गते (घटस्थापना)देखि नवमीसम्म उक्त महोत्सव आयोजना गर्न लागिएको हो ।

महोत्सवमा शोभायात्रा र श्रीमद्भागवत ज्ञान महायज्ञ गरिने समितिका सचिव तीर्थ श्रेष्ठले जानकारी दिए । युवा पण्डित नारायण देवकोटाले सङ्गीतमय झाँकीसहित कथा वाचन गर्ने सो महोत्सवमा नवमीदेखि प्रत्येक दिन बिहान ९ देखि १२ बजेसम्म र मध्याह्नदेखि अपराह्न ४ बजेसम्म महायज्ञ हुने उनले बताए ।

पहिलो दिन देवीका नौ रुपस्वरुप नव कन्याका नौ रथ, विन्ध्यवासिनी मन्दिरको झाँकी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत विभिन्न सङ्घसंस्थाको उपस्थितिमा शोभायात्रा गर्दै महोत्सव सुरु गरिने छ । महोत्सव अवधिभर रात्रिकालीन आरतीसमेत गरिने भएको छ । विजया दशमीको दिन बिहान ४ बजेदेखि नित्य पूजा आरम्भ भई ५ बजेदेखि भक्तजनका लागि खुला गरिने समितिले जानकारी दिएको छ ।

धार्मिक पर्यटनको विकाससँगै विश्व शान्ति तथा मानव कल्याणको कामना गर्दै जातीय सद्भावमा टेवा पुग्याउने उद्देश्यले महोत्सव आयोजना गरिएको समितिका कार्यवाहक अध्यक्ष सूर्यप्रसाद सुवेदीले बताए । पछिल्लो समय मन्दिरमा भेटी सङ्कलन कम हुँदै गएको समितिका कोषाध्यक्ष इन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।

आम्दानीको मुख्य स्रोत नै भेटी भएकाले कोरोनाका कारण यसमा ह्रास आएको उनको भनाइ थिायो । कोरोनाभन्दा अघि दैनिक एक करोडदेखि डेढ करोड रुपैयाँ आम्दानी हुने गरेकामा पछिल्लो समय घटेर ६० हजार रुपैयाँको हाराहारीमा पुगेको थियो । भक्तजनले चढाएको भेटीबाटै समितिले पुजारी र कर्मचारी व्यवस्थापनसँगै विभिन्न सामाजिक कार्य गर्दै आएको थियो । मन्दिरमा १० पुजारी र व्यवस्थापनमा ४५ कर्मचारी छन् । – रासस

प्रतिक्रिया