तेस्रो राष्ट्रिय महिला अधिकार दिवस मनाइयो

काठमाडौं । तेस्रो राष्ट्रिय महिला अधिकार दिवस ‘महिलाको सुरक्षा र अधिकार संकटकालिन व्यस्थापन हाम्रो सरोकार’ भन्ने नाराका साथ मनाईएको छ । कोभिड १९ संक्रमणको दोस्रो लहरसंगै रोकथाम तथा नियन्त्रणका लागि मुलुकका अधिकांश क्षेत्रमा निषेधाज्ञा भएकाले विभिन्न संघ संस्थाहरुले हर्ष उल्लासका साथ यो दिवस मनाउन नपाए पनि विभागिय मन्त्रालयले भने कार्यक्रम गरेको छ । सरकारले दिवसको अवसरमा प्रधानमन्त्रीको निजी निवास बालुवाटारमा कार्यक्रम गरेको छ ।
तेस्रो राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले पनि शुभकामना सन्देश दिएका छन् । शुभकामना संन्देशमा उनले लैगिक समानता तथा महिला अधिकार सुनिश्चित गर्न लामो समय देखि भएका धेरै संघर्षहरुलाई यस दिवसले सम्मान र पहिचान गरेको बताए ।
२०६३ साल जेठ १६ गते तात्कालिन पुर्नस्थापित प्रतिनिधिसभाले पारित गरेका महिला अधिकार सम्बन्धी प्रस्तावलाई आधार मानेर नेपालको संविधानले महिलाको समानताको हक, समानुपातिक सहभागीताको हक, प्रजनन, सम्बन्धी अधिकार, महिलाविरुद्धका हिंसामा प्रतिबन्धलगायत महिलाका आधारभूत अधिकारलाई मौलिक हकका रुपमा ग्रहण गरेको कुरालाई राष्ट्रपति भण्डारीले आफ्नो शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।
कार्यक्रममा राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले देशमा लैगिक हिंसा विकराल सामाजिक रोगको रुपमा बढ्दै र फैलिदै गएको बताए । उनले हिंसा नियन्त्रणका लागि राज्यबाट अबलम्बन गरिएका कानुनी व्यवस्थाहरु नै असमर्थ रहेको दाबी गरे । उनले निमुखा मात्रै नभई सचेत, शिक्षित, सम्पन्न र हैसियत प्राप्त महिलासमेत हरेक ठाउँमा लैगिक हिंसाको सिकार हुनु परिरहेको तर्फ सरकारको ध्यानाकर्षण गराए ।
उनले सामाजिक सार्वजनिक जीवन व्यतित गरिरहेका महत्वपुर्ण भूमिका निर्वाह गरिरहेका सम्मानित ओहोदा र हैसियतका महिलालाई समेत लैगिंकता र यौनिकताका आधारमा व्यक्तिगत र सार्वजनिक जीवनमा आँच पुराउने गरि मानसिक हिंसा गर्ने कामहरु पनि भईरहेको बताए ।
अध्यक्ष पराजुलीले महिला हकहित र अधिकारका पक्षमा विभिन्न कानुन निर्माण भई कार्यान्वयनमा आईसकेको बताए । राजनीतिक सहभागीताको सन्र्दभमा समानुपातिक सहभागीताको लक्ष्य अनुरुप सरकारको तीनै तह, स्थानीय, प्रदेश, संघीयमा महिलाको एकतिहाई भन्दा बढी उपस्थिति हुनु महिला अधिकारको क्षेत्रमा उपलब्धिपुर्ण भएको बताए । राज्यका सबै तह र संरचनामा एकतिहाई स्थान महिलाका लागि सुनिश्चत गर्ने विषय वर्तमान संविधानमा समावेश भई कार्यान्वयनमा आईसकेको पनि उनले बताए ।
२०६३ साल जेठ १६ गतेका दिन तात्कालिन पुर्नस्थापित प्रतिनीधिसभाले महिलाका अधिकार सम्बन्धी ४ वटा विशेष प्रस्ताव पारित गरेको थियो । नेपाली महिलाको अधिकारलाई नीतिगत र कानुनीरुपमा सुनिश्चित गर्ने आधार संसदबाट निर्माण गरिएको सोही दिनका स्मरण स्वरुप जेष्ठ १६ गतेलाई राष्ट्रिय महिला अधिकार दिवशको रुपमा मनाउन थालिएको हो ।
कार्यक्रममा सातै प्रदेशबाट एक/एकजना उत्कृष्ट महिला उद्यगीलाई राष्ट्रपति महिला उद्यमी समुन्नती पुरस्कारका लागि नाम घोषणा गरिएको थियो । पुरस्कृत महिला उद्योगीहरुलाई महिला मन्त्रालयले अवस्था अनुकुल भएपछि विशेष कार्यक्रम गरि १ लाख नगद सहित कदर पत्र प्रदान गरिने जनाएको छ ।

प्रतिक्रिया