बजेट घोषणापछिको पहिलो दिन नेप्से १२ अंकले बढ्यो, कारोबार रकमले तोड्यो यसअघिका सबै रेकर्ड

काठमाडौं । सरकारले आर्थिक वर्ष ०७८/७९ का लागि बजेट घोषणापछिको पहिलो दिन अर्थात् आइतबारको सेयर कारोबार उत्साहप्रद देखिएको छ ।
कारोबार खुलेको पहिलो दुई घण्टासम्म निकै नै उच्च रुपमा बढेको नेप्से अन्तिम समयमा आएर १२ दशमलव ५४ अंकले बढेर २८ सय २७ दशमलव ९३ अंंकमा पुगेकामा सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ३५ अंकले बढेर पाँच सय सात दशमलव पाँच अंकमा पुगेको छ ।
नेप्सेमा आज दुई सय १९ वटा कम्पनीको एक लाख ७३ हजार पाँच सय ३७ पटकको कारोबारमा चार करोड २६ लाख ३६ हजार तीन सय ४८ कित्ता सेयर खरिद बिक्री भएकामा कुल कारोबार रकम १७ अर्ब दुई करोड ८४ लाख ३२ हजार दुई सय ४५ रुपैयाँ पुगेको छ । यो कारोबार रकम हालसम्मकै सबैभन्दा उच्च हो ।
नेप्सेमा आज १३ वटा समूहको कारोबार भएकोमा सातवटा समूहको सूचक बढेका छन् । ६ वटा समूहको सूचक घटेका छन् । सोमध्ये वाणिज्य बैंक समूहको सूचक १९ दशमलव ९४ अंकले बढेर १८ सय ७६ दशमलव ९९ अंकमा पुग्दा निर्जीवन बिमा समूहको सूचक पनि ६४ दशमलव १२ अंकले बढेर १४ हजार आठ सय २५ दशमलव ६७ अंकमा पुगेको छ ।
यसैगरी जीवन बिमा समूहको सूचक पनि ९६ दशमलव एक अंकले बढेर १८ हजार पाँच सय ३३ दशमलव ७८ पुग्दा विकास बैंक, फाइनान्स, होटेल तथा पर्यटन र सामूहिक लगानी कोष समूहको सूचक पनि बढेका छन् । जलविद्युत् समूहको सूचक भने आज शून्य दशमलव ६६ अंकले घटेर तीन हजार १५ दशमलव ८१ अंकमा झरेकामा लघुवित्त, ट्रेडिङ, उत्पादनमूलक, अन्य र लगानी समूहहरुको सूचक पनि घटेका छन् ।
आज ज्योति विकास बैंकको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर तीन सय ६३ रुपैयाँमा कारोबार हुँदा वरुण हाइड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मूल्य ६ दशमलव ५६ प्रतिशतले घटेर चार सय ७० रुपैयाँमा कारोबार भएको छ ।
यसैगरी आज नेसनल हाइड्रो पावर कम्पनीको प्रतिकित्ता दुई सय ५४ रुपैयाँ अन्तिम मूल्यमा ४७ करोड ४० लाख ९० हजार दुई सय एक रुपैयाँको कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबारमध्ये सबैभन्दा बढी हो ।
प्रतिक्रिया