पर्यटनमन्त्रीको आरोप निराधार : नेता रिजाल

नेपालखोज २०७८ जेठ १७ गते १६:५४


काठमाडौं । नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले कांग्रेसले एमाले र जसपा विभाजन गराउन लागको भन्ने संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री भानुभक्त ढकालको आरोप निराधार रहेको बताएका छन् ।

नेता रिजालले नेकपा (एमाले)भित्र झगडाको बिउ आफुहरुले लगाएको नभई प्रधानमन्त्री केपी शर्मा ओलीको अहंकार र सबैलाई पेल्ने प्रवृतिका कारण विवाद उत्पन्न भएको बताए ।

सरकारका विरुद्ध कांग्रेसले अविश्वासको प्रस्ताव ल्याउनु पर्ने आम मागकाबीच पनि सरकारविरुद्ध अविश्वास प्रस्ताव नल्याई आफै आलोचित हुँदासम्म पनि कांग्रेस चुप लागेर बसेको उल्लेख गर्दै उनले अहिले भने देश र जनताको बृहत्तर सार्थ र हितलाई ध्यान दिदैँ प्रधानमन्त्रीका लागि विकल्प प्रस्तुत गरेको बताए ।

उनले भने ‘यो निराधार आरोप हो । नेकपा व्यवस्थापन गर्न सक्नुभएन प्रधानमन्त्रीले । उहाँको अहंकार र सबैलाई पेल्ने प्रवृतिका कारण पार्टी फुटको संघारमा पुग्दापनि हामी संयमित भयौँ । प्रतिनिधि सभा विघटनपश्चात् पनि कांग्रेसले अविश्वास प्रस्ताव दर्ता नगरेका कारण निकास निस्केन भनेर आलोचना टिप्पणी खायौँ तर अर्काको पार्टीमा पसेनौं । यो बिउ हामीले लगाएको होईन । कांग्रेस अरु कसैको पनि झगडामा परेको छैन । हामीले कसैलाई उत्प्रेरित गरेका छैनौं । दोस्रो पटक प्रधानमन्त्रीले प्रतिनिधि सभालाई विघटन गर्ने प्रपञ्च नगर्दासम्म हामीहरुले उहाँहरुले समर्थन छ भन्दा भन्दै पनि आफैँ चुप लागेर बस्यौँ । बरु त्यसको लागि हामी आलोचित भयौँ । त्यो आलोचना सह्यौँ । अहिले देश र जनताको बृहत्तर स्वार्थ र हितका लागि हामीहरुले उहाँहरुसँग साथ लिएर विकल्प प्रस्तुत गर्न आवश्यक थियो । त्यो विकल्प प्रस्तुत गर्याैं ।’

प्रतिक्रिया