चुरे क्षेत्रको दोहन रोक्न नेता थापाको आह्वान

काठमाडौं । काँग्रेस नेता गगन थापाले संसद नभएको बेला असंवैधानिक सरकारले अवैधानिक तवरले जस्केलाबाट ल्याएको बजेटमा ’नेपालको ढुङ्गा, गिट्टी, बालुवा निकासी गरेर व्यापार घाटा न्यूनीकरण गर्ने’ कार्यक्रम घुसाएको आरोप लगाएका छन् ।
सरकारले आफ्नो असली अनुहार र घटिया सोच उजागर गरेको भन्दै वातावरण र चुरे संरक्षणमा सरकार कति असंवेदनशिल छ भन्ने प्रस्ट भएको उनले बताएका छन् ।
थापाले भनेका छन्, यो ’नीतिगत भ्रष्टाचार हो’। आफ्ना ‘यार’लाई पोस्न सरकार कुन हदसम्म गिर्छ भन्ने कुरा पुनःछर्लङ्ग भएको छ । ‘चुरे क्षेत्र तहस नहस पारेर तराईलाई मरुभूमिकरण गर्न उद्धत यस्ता प्रयत्नलाई विगतमा संसदीय समितिमा हुँदा पनि पटक-पटक रोकेको हो । यसपटक पनि सरकारको यो निर्णय रोकेरै छाड्नेछौँ ।’
नेता थापाले अपिल जारी गर्दै भनेेका छन्, अदालतको आदेश, संसदीय समितिका पटक-पटकका निर्देशन र नागरिक खवरदारीलाई अन्देखा गर्दै सरकारले जस्केलाबाट ल्याएको यो जनविरोधी कार्यक्रमलाई हामी जनप्रतिनिधिले त प्रतिरोध गर्छौँ नै आम जनता, संचारजगत, सचेत नागरिक समाज सबैलाई यसको प्रतिरोध गर्न आव्हान गर्दछु ।’

प्रतिक्रिया