कोभिडसँग लड्छौँ, हामी सेवा दिन्छौं’ अभियान सुरु

भक्तपुर । काेभिड-१९ को महामारीबाट जोगाउन भक्तपुरका विभिन्न संस्था सक्रिय भएका छन् । कोभिड सङ्क्रमणको दोस्रो लहर रोकथाम र नियन्त्रणमा सरकार लागिरहेका बेला भक्तपुर चेम्बर अफ कमर्स र भक्तपुर लायन्स सेवा समन्वय समितिको संयोजनमा ११ संस्थाले संयुक्त रूपमा कोभिड-१९ नियन्त्रण अभियान नै चलाएका छन् ।
‘सेवा परमो धर्म’ ले कोभिडसँग लड्छौँ, हामी सेवा दिन्छौँ भन्ने नारा दिएर कोभिडलाई परास्त गर्ने अभियान सुरु गरेको नेपाल चेम्बर अफ कमर्सका केन्द्रीय सदस्य रोशन भोयद्योले बताए ।
कोभिड सङ्क्रमितको उपचारमा संलग्न डाक्टर तथा स्वास्थ्य परिचारिकाका लागि विशेष किसिमको क्वरेण्टीन सेन्टर सञ्चालनमा ल्याइएको र त्यसमा अक्सिजनको समेत व्यवस्था गर्न लागिएको उनले बताए ।
चाँगुनारायण नगरपालिकाद्वारा सञ्चालित कोभिड-१९ आइसोलेसन सेन्टर चाँगुनारायण इन्जिनियर कलेज नेकसँग सहकार्य गर्दै आइसोलेसन केन्द्रलाई थप प्रभावकारी बनाउन आवश्यक व्यवस्थापन गरिएको भक्तपुर चेम्बर अफ कमर्सका अध्यक्ष न्हुछेरत्न मानन्धरले जानकारी दिए ।
परमो धर्म अभियानले जेठको पहिलो हप्तादेखि कोभिडका बिरामीका लागि २४ घण्टा निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको र सेवा चाहिएमा हटलाइन नम्बर ९८६१७५६४६१ मा सम्पर्क गर्न उहाँले आह्वान गरे । भक्तपुर नगरपालिकाले स्थापना गर्न लागेको अक्सिजन प्लान्टलाई तीन लाख रुपैयाँ सहयोग गरेको मानन्धरले जानकारी दिए ।
रासस
रासस नेपालको राष्ट्रिय समाचार एजेन्सी हो । नेपालखोज राससको आधिकारिक ग्राहक पनि हो ।

प्रतिक्रिया