काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो : के-के खुले, के गर्न पाइँदैन ?

नेपालखोज २०७८ जेठ २१ गते ८:३३

काठमाडौं । काठमाडौं उपत्यकामा आजबाट निषेधाज्ञा केही खुकुलो बनाएर १० दिनका लागि थप गरिएको छ ।

जेठ १४ गतेदेखि जारी गरिएको निषेधाज्ञा लम्बाउँदै करिब एक महिनापछि खुकुलो बनाइएको हो । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले जेठको अन्तिम साता केही सेवा चल्न दिनेगरी नयाँ व्यवस्था गरिएको हो ।

पछिल्लो निर्णय अनुसार के–के खोल्न पाइन्छ ?

आजदेखि किराना लगायत केही पसल खुला गर्न पाइने छ । तीमध्ये तरकारी, फलफूल, दूध, मासु, खानेपानी लगायत सेवा एवं किराना पसल बिहान ९ बजेसम्म खोल्न पाइने भएको छ ।

डिपार्टमेन्टल स्टोर पनि आजबाट विहानको समयमा खुल्ने छन् । तर, दुई मिटरको दूरी कायम अनिवार्य गर्नुपर्ने छ ।

मोटरसाइकल वर्कसपसम्मका केही सेवाहरुलाई भने खुला गरिएको हो । आजदेखि बिहान नौ बजेसम्म वर्कसप पनि खोल्न दिइने भएको छ । राति १० बजेदेखि बिहान ९ बजेसम्म मोटरसाइकल वर्कसप भने खोल्न दिइने भएको छ ।

राति ९ बजेदेखि बिहान ९ बजेसम्मको लागि निर्माण सामग्रीको ढुवानीका साधनहरू सञ्चालनको अनुमति दिइएको छ ।

काठमाडौंमा बैंक तथा वित्तीय संस्थाको हकमा प्रधान कार्यालय र ३ वटा शाखा वाणिज्य बैंकले, विकास बैंकले प्रधान कार्यालय र २ वटा शाखा, वित्त कम्पनीले प्रधान कार्यालय र एक वटा शाखा खेलेर सेवा दिन पाउने छन् ।

अत्यावश्यक सेवाहरु एम्बुलेन्स, खानेपानी, विद्युत मर्मत सम्भार, स्वास्थ्य सम्बद्ध सवारी साधनहरु, दुरसञ्चार, इन्टरनेट, मर्मत तथा फोहोरमैला व्यवस्थापनसँग सम्बन्धित सवारी साधनलाई पनि सञ्चालन गर्न दिइनेछ ।

के गर्न पाइदैँन

अत्यावश्य बाहेकका सरकारी कार्यालय, सार्वजनिक संस्थान र बिमा लगायतका कार्यालयको सेवा प्रवाह हाललाई स्थगित गरिएको छ ।

निषेधाज्ञामा औषधी, खाद्यवस्तु तथा अन्य अत्यावश्यक वस्तु वा सेवा खरिदको काममा बाहेक कसैलाई घर बाहिर ननिस्किन भनेको छ ।

त्यस्तै सबै प्रकारका सभा, सम्मेलन, पार्टी प्यालेस, डान्सबार, दोहोरी, नाचघर, क्लब, स्वीमिङ पुल, सपिङ मल, सैलुन, व्युटी पार्लर, हेल्थक्लव, पुस्तकालयलगायत मानिसहरुको भिडभाड हुने खालका कुनै पनि कार्यक्रम सञ्चालन गर्न पाइने छैन ।

शैक्षिक संस्थाहरु विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्रहरु पनि बन्द नै रहने छन् । सार्वजनिक सवारी साधनहरु भने जेठ ३१ गते सम्म सञ्चालन गर्न नपाइने भएको छ ।

प्रतिक्रिया