‘छुवाछुत तथा भेदभावसम्बन्धी जघन्य घटनाका अपराधीहरुलाई सरकारले कानुनी दायरामा ल्याउनेछ’

नेपालखोज २०७८ जेठ २१ गते १३:२०

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्षसमेत रहेका केपी शर्मा ओलीले छुवाछुत तथा भेदभाव सम्बन्धी जघन्य घटनाका अपराधीलाई सरकारले कानुनी दायरामा ल्याउने बताएका छन् ।

छुवाछुतविरुद्धको राष्ट्रिय दिवसका अवसरमा उनले मानव सभ्यताको कलंकका रुपमा रहेको यस अमानवीय प्रथालाई अन्त्य गर्न सरकारले कुनै सम्झौता नगर्ने बताएका छन् ।

उनले शुभकामना सन्देश जारी गर्दै भनेका छन्, ‘छवाछुत रंगभेद, जातिभेद, लिङ्गभेद वा यस्तै विभिन्न आधारमा गरिने भेदभाव, पक्षपात र दमन कहिल्यै पनि मानव जातिको आकाङ्क्षा थिएन । तर समाज विकासको क्रममा जब मानिस बलिया र कमजोर, शासक र शासित, धनी र गरिबका बीचमा विभाजित भयो तव यस प्रकारका मानवता विरोधी अभ्यासहरु शासकहरुले शासितहरुमाथि थोपर्दै गए र मानव सभ्यतामा एउटा कलङ्कको रुपमा यस्ता क्रियाकलापहरु सामाजिक कुप्रथाको रुपमा स्थापित र अभ्यास गरिए ।’

उनले भनेका छन्, ‘मानव सभ्यताको कलङ्क र सभ्य, लोकतान्त्रिक तथा सम्मानजनक जीवन जिउन पाउने मानव अधिकारको पालनामा देखिएका बाधाहरुलाई सरकारले हटाउने छ । छुवाछुत सम्बन्धी जघन्य घटनाका अपराधीहरुलाई सरकारले कानूनी दायरामा ल्याउनेछ, ल्याइरहेको छ । त्यस्ता अपराधीलाई कडा भन्दा कडा सजाय दिने कुरामा सरकारले कुनै सम्झौता गर्नेछैन ।’

प्रतिक्रिया