चौबीस घण्टामा ८ हजार बढी डिस्चार्ज, ६ हजार ६५३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो चौबीस घण्टामा थप ८ हजार ६६३ जना कोरोना संक्रमित निको भइ डिस्चार्ज भएका छन् । योसँगै कोरोना संक्रमण मुक्त हुनेको कुल संख्या ४ लाख ७६ हजार १३० पुगेको छ । नेपालमा कोरोना निको हुने दर ८१ दशमलव ९ प्रतिशत रहेको छ ।
त्यस्तै, पछिल्लो चौबीस घण्टामा थप ६ हजार ६५३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । २० हजार ८१३ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ४ हजार ६२४ जना र एन्टिजेन विधिबाट २ हजार २९ जना गरि कुल ६ हजार ६५३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसंगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ५ लाख ८१ हजार ५६० पुगेको मन्त्रालयले जनाएको छ । हाल देशभर ७ सय ५५ जना क्वारेन्टिनमा रहेका छन् ।हाल सक्रिय संक्रमितमध्ये ९० हजार ८९२ जना होम आइसोलेसनमा रहेका छन भने ६ हजार ८०९ जना संस्थागत आइसोलेसनमा रहेका छन् । १ हजार ४२२ जना आईसीयू तथा ४०४ जना भेन्टिलेटरमा रहेका छन् ।
त्यस्तै, चौबीस घण्टामा देशभरबाट कोरोना संक्रमणका कारण थप १०१ जनाले ज्यान गुमाएका छन् ।योसँगै कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको कुल संख्या ७ हजार ७३१ पुगेको छ ।

प्रतिक्रिया