अर्थमन्त्री पौडेलले भने- शिक्षा, स्वास्थ्य, कृषि क्षेत्रलाई बजेटले समेटेको छ

काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आफूले प्रस्तुत गरेको बजेटको चौतर्फी समर्थन भएको भन्दै खुसी व्यक्त गरेका छन् । उनले बजेटमा विभिन्न क्षेत्रबाट महत्त्वपूर्ण सुझावहरु पनि आएको बताएका छन् ।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आज भर्चुअल माध्यमबाट गरेको बजेट कार्यान्वयन र चुनौती विषयक अन्तर्क्रियामा उनले कोभिड महामारीबाट आम नेपालीलाई जोगाउन सरकार कटिबद्ध रहेकाले सोहीअनुसार बजेट ल्याइएको दाबी गरे ।
उनले सबै जनताको जीवनरक्षाका लागि सबैलाई नि:शुल्क भ्याक्सिन उपलब्ध गराउने, कोभिड नियन्त्रणमा सघाउन पुर्याउने उद्देश्यले बजेट ल्याइएको बताए । बजेटले जनताको जनजीवनसँग जोडिएका र विकास निर्माणलाई महत्त्व दिएर सम्बोधन गरेको अर्थमन्त्री पौडेलले बताए । उनले भने, ‘बजेटले स्वास्थ्य क्षेत्रमा महत्त्वपूर्ण सम्बोधन गरेको छ । स्वास्थ्य उपचारका लागि नेपालीहरु
विदेश जानु नपरोस् भने कीर्तिपुरमा अस्पताल र भक्तपुरको दुवाकोटमा वीर अस्पतालको सेवा विस्तारका लागि पूर्वाधार निर्माणमा बजेटले सम्बोधन गरेको छ ।’
स्वास्थ्य क्षेत्र र स्वास्थ्य पूर्वाधारका क्षेत्रमा बजेट केन्द्रित रहेको अर्थमन्त्री पौडेलले बताए । उनले शिक्षा र शैक्षिक पूर्वाधारका क्षेत्रमा अहिलेको बजेट युगान्तकारी रहेको पनि बताए । उनले भने, ‘देशभरका विद्यालय तथा शैक्षिक पूर्वाधार निर्माणको काम तीन वर्षभित्र सम्पन्न गरेर व्यवस्थापन समितिलाई हस्तान्तरण गर्ने गरी राष्ट्रपति शैक्षिक सुधारका कार्यक्रमहरु बजेटले समेटेको छ ।’
उनले अनुसन्धानको विधामा पनि बजेटले समेटेको बताए । यस्तै उद्योग र औधोगिकरणका क्षेत्र र त्यसको पूर्वाधारहरुको कामलाई पनि बजेटले अघि बढाएको बताए । उनले कृषि र सिँचाइको क्षेत्रमा पनि बजेटले सम्बोधन गरेको बताए ।
अर्थमन्त्री पौडेलले बजेटले सम्बोधन गरेका विषयका बारेमा जानकारी दिएका थिए । उनले तराई-मधेसमा सिँचाइका आयोजनाहरु अघि बढाउने र निर्माणाधीन सिँचाइ आयोजनाको निर्माण पूरा गर्नका लागि बजेटले सम्बोधन गरेको जानकारी दिए । उनले रासायनिक मल अनुदानमा विस्तार गरेको पनि जानकारी दिए । उनले रासायनिक मल कारखानाको स्थापनालाई समेत अघि बढाउने गरी बजेट आएको बताए ।
प्रतिक्रिया