पाकिस्तानको रेल दुर्घटनामा ३० जनाको मृत्यु

काठमाडाैं । दक्षिणी पाकिस्तानमा दुई वटा यात्रुवाहक रेल जुध्दा ३० जनाको ज्यान गएको छ भने दर्जनौँ घाइते भएका छन् । एउटा रेल लिकबाट बाहिरिएपछि दोस्रो रेल त्यसमा जोतिन आइपुगेको बीबीसीले जनाएकाे छ । उक्त दुर्घटना सिन्ध प्रान्तमा भएको थियो । उद्धारमा खटिएका टोलीहरूले घाइतेहरूलाई नजिकैका अस्पताल लगेका छन् ।
कयाैं घाइतेहरूको अवस्था गम्भीर रहेको बताइएको छ । घोट्की जिल्लाका एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै दुर्घटनामा आठ वटा डिब्बा ध्वस्त भएको र त्यसकारण फसेका यात्रुलाई निकाल्न कठिनाइ भएको बीबीसीले उल्लेख गरेकाे छ ।
के कारणले रेल लिकबाट बाहिरिएको भन्ने प्रस्ट भएको छैन । वरपरका अस्पतालहरूलाई तयारी अवस्थामा रहन सजग गराइएको छ । सोमवार सबेरै कराचीबाट आइरहेको मिल्लत एक्सप्रेस रेल लिकबाट बाहिरिएको थियो । लगत्तै रावलपिण्डीबाट आइरहेको सर सैयद एक्सप्रेस रेल त्यसमा जोतियो र पल्टियो ।
प्रतिक्रिया