बुधबार, जेठ ८, २०८२

फिल्डमा खटिने पत्रकारलाई कोरोना संक्रमण हुनबाट सचेत रहन आग्रह (भिडियोसहित)

नेपालखोज २०७८ जेठ २४ गते १४:५३

काठमाडौं । नेपाल पत्रकार महासंघले फिल्डमा खटिने पत्रकार कोरोना संक्रमणमा पर्न थालेको भन्दै सचेत रहन आग्रह गरेको छ । सोमबार काठमाडौंमा नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरीले कोरोना संक्रमणबाट पत्रकारहरु संक्रमित हुने दर दिनदिनै बढेको बताए ।

देशैभरीमा अहिलेसम्म ९५० जना पत्रकार संक्रमित भइसकेको उनले बताए । यसरी संक्रमित भएकामध्ये १९ जनाले ज्यान गुमाइसकेको महासचिव पुरीले बताए । हाल २०० जनाभन्दा बढी सक्रिय संक्रमित पत्रकारहरु रहेको पनि महासचिव पुरीले जानकारी दिए ।

पत्रकार महासंघले फिल्डमा समाचार संकलन गर्ने पत्रकारहरुले स्वास्थ्य मापदण्डलाई अपनाउन पनि आग्रह गरेको छ । कोरोना संक्रमणको तेस्रो लहरको जोखिम पनि सँगसँगै आउने भएकोले पत्रकारहरुले आपतकालिन अवस्थामा चाहिने अत्यावश्यक सामग्री राख्न पत्रकारहरुलाई आग्रह गरेको छ ।

महासंघले जिल्ला शाखाबाट पनि समन्वय र सहयोग गर्ने भन्दै महासंघको सूचनाको सञ्जालमा आउन आग्रह गरेको छ । कोरोना संक्रमणको जोखिम बढिरहेको बेला पत्रकारहरुको श्रमसँग जोडिएका समस्या उजुरीको रुपमा महासंघमा आउन थालेको महासचिव पुरीले बताए ।

महासंघमा उजुरी परेका ५० जना पत्रकारहरुमध्ये २९ जनाको समस्या समाधान भएको उनले बताए । पछिल्लो समय पत्रकारको श्रमसँग जोडिएको समस्या महासंघ एक्लैले गर्न नसक्ने भएकोले सरकारले समेत अग्रसरता देखाउनुपर्ने आवश्यकता रहेको महासंघले निष्कर्ष निकालेको छ । सरकारले पत्रकार र श्रमसँग जोडिएको कानूनको प्रभावकारी कार्यान्वयन गराउने हो भने समस्या समाधान छिटो हुने महासचिव पुरीले बताए ।

प्रतिक्रिया