बुधबार, वैशाख १२, २०८१

शिक्षाविद् भन्छन्- एसईईका नाममा विद्यार्थीमाथि आर्थिक शोषण भयो, अब खारेज गर्नुपर्छ

नेपालखोज २०७८ जेठ २५ गते ७:४३

काठमाडौं । राष्ट्रिय अभिभावक महासंघका पूर्वअध्यक्ष सुप्रभात भण्डारीले एसईईका नाममा विद्यार्थीबाट रकम उठाएर आर्थिक शोषण गर्ने काम भइरहेको बताएका छन् । काठमाडौंमा आयोजित कार्यक्रममा भण्डारीले विद्यार्थीलाई मानसिक तनाव दिने, अभिभावकलाई आर्थिक भार पार्ने र जहिल्यै हाउगुजी बनाउने काम भएको पनि आरोप लगाए ।

त्यस्तै कार्यक्रममा सरोकारवालाहरुले संविधानअनुसार माध्यमिक शिक्षा कक्षा १२ सम्म लागू भएकाले १० कक्षामै लिइने एसईई खारेज हुनुपर्नेमा जोड दिएका छन् । उनीहरुले करोडौँ लगानी गरेर उपलब्धि नहुने भएकाले एसईई खारेज गर्नुको विकल्प नभएको पनि बताएका छन् ।

कार्यक्रममा शिक्षाविद् डा.विष्णु कार्कीले संविधान जारी भएर लागू भएकै दिनदेखि एसईई खारेज हुनुपर्नेमा शिक्षामन्त्रालयको कमजोर नेतृत्व र एसईईका नाममा केही व्यक्तिलाई राष्ट्रिय परीक्षा बोर्डमा जागिर दिने काम मात्रै भइरहेको बताए । एसईई परीक्षा संविधानको विपरीत रहेको, विद्यार्थी र अभिभावकमाथि अन्याय भइरहेको कार्कीको भनाइ छ ।

त्यस्तै परीक्षाविद् प्राध्यापक डा. दिव्यमान कर्माचार्यले एसईई खारेज गर्नेबारे पटक(पटक छलफल र कुरा उठे पनि सरकारले गम्भीरताका साथ नलिएको बताए ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. चन्द्रमणि पौडेलले शिक्षा ऐनका कारण एसईई खारेज गर्न नसकिने बताएका छन् । शिक्षा ऐनमा एसईई सञ्चालन गर्नुपर्ने प्रावधान रहेको र नयाँ ऐन नल्याएसम्म यो पद्धति हटाउन नसकिने उनको भनाइ छ ।

प्रतिक्रिया