चिनियाँ कम्युनिस्ट पार्टीले पठाएको स्वास्थ्य सामग्री एमालेद्वारा सरकारलाई हस्तान्तरण

काठमाडौं । नेकपा एमालेले चिनियाँ कम्युनिष्ट पार्टीले सद्भाव स्वरूप पठाएको स्वास्थ्य सामाग्रीहरू सरकारलाई हस्तान्तरण गरेको छ ।
नेकपा एमाले स्वास्थ्य विभागले मंगलबार पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको कार्यक्रममा महासचिव ईश्वर पोखरेलले चिनियाँ कम्युनिष्ट पार्टीबाट पाएको हाइड्रोजन अक्सिजन नेबुलाइजर ३० थान र एन ९५ मास्क एक लाख थान स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङलाई हस्तान्तरण गरेका हुन् ।
स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै महासचिव पोखरेलले कोरोना भाइरसलाई लिएर कुनै राजनीति गर्ने विषय नभएको र यसलाई साझा समस्या ठानेर समाधान गर्न सबै एकतावद्ध हुनुपर्ने बताए । सोही उद्देश्यलाई ध्यानमा राखेर राज्यको आधिकारिक निकायलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको उनको भनाई छ । मन्त्रालयमार्फत् आवश्यक ठाउँमा स्वास्थ्य सामग्री उपलब्ध गराइने विश्वास उनले व्यक्त गरे ।
स्वास्थ्य सामग्री बुझ्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले प्राप्त स्वास्थ्य सामग्री सरकारले प्राप्त सामग्रीको रुपमा दर्ता गर्दै सरकारको मापदण्डभित्र रहेर आवश्यक ठाउँमा पुर्याउने प्रतिवद्धता व्यक्त गरेका छन् । मन्त्री तामाङले कोरोनाविरुद्धको खोप सबै नागरिकलाई पुर्याउनको निम्ति सरकार प्रयासरत रहेको पनि बताएका छन् ।
हस्तान्तरण कार्यक्रममा एमाले स्वास्थ्य विभाग प्रमुख खगराज अधिकारी, पार्टी नेताहरू प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, विष्णु रिजाललगायत नेता कार्यकर्ताको सहभागीता रहेको थियो ।

प्रतिक्रिया