बिहीबार, जेठ २, २०८२

मोटरसाइकल दुर्घटनामा आमाको घटनास्थलमै मृत्यु, छोरा घाइते

रासस २०७८ जेठ २६ गते ९:३३

चितवन । पूर्वी चितवनको कालिका नगरपालिकामा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार उपरदाङ्गगढीबाट शक्तिखोरतर्फ आउँदै गरेको ना ३६ प २१९९ नम्बरको मोटरसाइकल कालिका–९ सुनखानीमा आफैँ अनियन्त्रित भई दुर्घटना भएको थियो । मोटरसाइकल मङ्गलबार राति १० बजे सडकबाट ५० मिटर तल खसेको कार्यालयले जनाएको छ ।

दुर्घटनामा परी मृत्यु हुनेमा इच्छाकामना गाउँपालिका–२ बस्ने ६० वर्षीया हस्तमाया मगर रहेको कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिएका छन् ।

मोटरसाइकल चालक रत्ननगर नगरपालिका–११ बस्ने ३५ वर्षीय फत्तेबहादुर मगर घाइते भएका छन् । घाइते मगरको दुवै खुट्टा, हात र ढाडमा चोट लागेको छ र चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । मृतक र घाइते आमा छोरा रहेको थापाले बताए ।

रासस

रासस नेपालको राष्ट्रिय समाचार एजेन्सी हो । नेपालखोज राससको आधिकारिक ग्राहक पनि हो ।

प्रतिक्रिया