शुक्रबार, वैशाख ७, २०८१

पुरानो नक्सा छापेर बिक्री गरेको पुस्तक जफत गर्न शिक्षामन्त्री श्रेष्ठकाे निर्देशन

नेपालखोज २०७८ जेठ २६ गते १७:१६


काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले पुरानो नक्सा छापेर बिक्रि गरेको पुस्तक जफत गर्न निर्देशन दिएका छन् । केही निजी प्रकाशकले नयाँ संस्करण उल्लेख गरी नेपालको पुरानो नक्सा छापेर पुस्तक बिक्रि गरेको जानकारी पाएपछि मन्त्री श्रेष्ठले सो निर्देशन दिएका हुुन् ।

पाठ्यक्रम विकास तथा मुल्याङकन परिषदको आज सम्पन्न ८८औं बैठकमा मन्त्री श्रेष्ठले पुस्तक प्रकाशक र बिक्रेतालाई कानूनको दायरामा ल्याएर हदैसम्मको कारबाही गर्न पाठ्यक्रम विकास केन्द्रलाई निर्देशन दिएका हुुन् ।

उनले सरकारको आँखा छलेर पुरानो नक्सा उल्लेख गरी पुस्तक बिक्रि गर्ने पुस्तक प्रकाशक र वितरकलाई तत्काल स्पष्टीकरण सोध्ने, पुरानो नक्सा अंकित बजारमा बिक्रि भएका पुस्तक जफत गर्ने र मन्त्रालयको निर्देशन अटेर गरे कानून अनुसार कारबाही गर्न पाठ्यक्रम विकास केन्द्रलाई निर्देशन दिएका छन् ।

प्रकाशक र बिक्रेताले पुरानो किताबको कभर परिवर्तन गरी पुस्तक बिक्री गरेको जानकारी पाएपछि मन्त्री श्रेष्ठले कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका हुन् ।

उनले भनेका छन्, ‘तपाईहरु अनुगमन गर्नुस, देशमाथि आँच पुग्नेगरी पुरानो नक्सा उल्लेख गरी पुस्तक बिक्रि गरेको पाइए तत्काल प्रहरी प्रशासन लगाएर कारबाही गर्नुस मन्त्री श्रेष्ठको निर्देशन रहेको थियो ।’

मन्त्रालयका सचिव रामप्रसाद थपलियाले पुरानो नक्सा राखि नयाँ पुस्तक बिक्री गर्नेमाथि कडा कारबाही गरिने जानकारी दिए । उनले भने ‘यस विषयमा तत्काल अनुगमन गर्नेछाैं, गल्ती गर्ने प्रकाशक र बिक्रेतामथि कारबाही प्रकृया अघि बढाउनेछौं ।’

उनले सरकारले नयाँ नक्सा जारी गरिसकेको अवस्थामा पुरानो नक्सा उल्लेख गर्नु गम्भीर त्रुटी भएको बताउदै त्यस्तामाथि कडा कारबाही गर्नुपर्ने बताए ।

अधिकांस बिक्रेताले नेपालको पुरानो नक्सा उल्लेख गरी बिक्रि गरेको पाठ्यक्रम विकास केन्द्रले जनाएको छ । केन्द्रका महानिर्देशक अणप्रसाद न्यौपानेले पुरानो नक्सा छापेर पुस्तक बिक्रि गरेका प्रकाशक र बिक्रेतामाथि कारबाही प्रकृया अघि बढाउने जानकारी दिए ।

उनले भने, ‘पुरानो नक्सा राखेर पुस्तक छापाई गरेको जानकारी पाएका छाैं, ती मध्ये केही प्रकाशकलाई स्पष्टीकरण सोधेर कारबाही प्रकृया अघि बढाएका छौं ।’

अधिकांस पुस्तक प्रकाशक र बिक्रेताले सामाजिक शिक्षा, जिके लगायतका पुस्तकमा पुरनै नक्सा राखेर छपाई गरेको पाईएको छ । मन्त्री श्रेष्ठले सरकारले जारी गरेको चुच्चे नक्सा नराखि प्रकाशन गर्ने पुस्तक ब्यापारीलाई तत्काल कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका हुुन् ।

बैठकमा मन्त्री श्रेष्ठले कक्षा ६ को पुस्तक अभाव हुन नदिने सूचीकृतमा परेका प्रकाशकको पुस्तक छपाइका लागि स्वीकृत दिन समेत निर्देशन दिएका छन् । बैठकले विभिन्न विषयका कक्षा ६–८ को पाठयक्रम स्वीकृत गरेको छ ।

प्रतिक्रिया