शुक्रबार, वैशाख १४, २०८१

परिसंघले भन्यो- विदेशी लगानी भित्र्याउँदा राष्ट्र बैंकको स्वीकृति नचाहिने व्यवस्था स्वागतयोग्य

नेपालखोज २०७८ जेठ २६ गते १८:०४

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघले विदेशी लगानी भित्र्याउँदा राष्ट्र बैंकको स्वीकृति नचाहिने व्यवस्था स्वागतयोग्य रहेको बताएको छ ।

नयाँ व्यवस्था लागु भएसँगै विदेशी लगानी स्वीकृत गर्ने निकायबाट स्वीकृति पाएको अवस्थामा राष्ट्र बैंकको पूर्वस्वीकृति आवश्यक पर्ने छैन । यसले नेपालमा विदेशी लगानी ल्याउन सहज हुने र देशले अहिले भोगिरहेको लगानी अभावको निमित्त मार्ग प्रशस्त गर्ने परिसंघको अपेक्षा छ ।

परिसंघले यसअघि ०७७ असार २८ गते गभर्नर महाप्रसाद अधिकारी र ०७७ पुस १९ गते अर्थमन्त्री विष्णुप्रसाद पौडेलसमक्ष विदेशी लगानी भित्र्याउने व्यवस्था मिलाउन सुझाव पेस गरेको थियो । उक्त सुझावलाई सम्बोधन गर्दै नेपाल राष्ट्र बैंकले ‘नेपाल राष्ट्र बैंक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८’ जारी गरेको भन्दै त्यसको स्वागत गरेको छ ।

प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउनका लागि राष्ट्र बैंकले सहज बनायाे

परिसंघले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘राष्ट्र बैंकले विदेशी लगानी ल्याउनका लागि गरेको नयाँ नीतिगत व्यवस्थाले विदेशी लगानी आकर्षित हुने, विभिन्न पूर्वाधारमा लगानी भई आर्थिक क्रियाकलाप बढ्ने, रोजगारी सिर्जना हुने र समग्रमा दिगो आर्थिक वृद्धि तथा विकासमार्फत समृद्ध राष्ट्र निर्माण गर्ने आम नेपालीको राष्ट्रिय अभियानमा ठोस योगदान पुग्नेछ ।’

प्रतिक्रिया