सोमबार, जेठ ६, २०८२

‘कोभिडको संकटमा परेका महिलालाई उद्यममा फर्काउन पुँजी र बजारीकरणमा सहयोग गर्नुपर्छ’

नेपालखोज २०७८ जेठ २८ गते १३:४३


काठमाडौं । नेपाल उद्योग परिसंघ अन्तर्गतको सीएनआई सीईओ फोरमले समाजका विभिन्न क्षेत्रमा नेतृत्वदायी भूमिकामा रहेका महिला नेतृहरूसँग ‘कोभिड-१९ को दोस्रो लहरविरुद्ध लड्न नेतृत्वको भूमिका’ विषयमा भर्चुअल अन्तरक्रिया सम्पन्न गरेको छ ।

परिसंघका उपाध्यक्ष एवं सीएनआई सीईओ फोरमका कोअर्डिनेटिङ उपाध्यक्ष निर्वाण चौधरीको अध्यक्षतामा अन्तरक्रिया सम्पन्न भएको हो । अन्तरक्रिया कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री चन्दा चौधरी, महिलाविरुद्ध सबै स्वरूपका विभेद हटाउने सम्बन्धी राष्ट्रसंघीय समितिकी निर्वाचित सदस्य बन्दना राणा र युनाइटेड इन्स्योरेन्स कम्पनीकी प्रमुख कार्यकारी अधिकृत उपासना पौडेल वक्ताको रूपमा सहभागी रहेका थिए ।

कार्यक्रम सञ्चालन सीएनआई सिईओ फोरमका कन्भेनर एवं नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले गरेका थिए । भर्चुअल विधिबाट गरिएको छलफल एवं अन्तरक्रियामा विभिन्न क्षेत्रमा नेतृत्वदायी भूमिकामा रहेका व्यक्तित्वहरूको सहभागिता थियो ।

कार्यक्रममा मन्त्री चौधरीले महिला, बालबालिका, ज्येष्ठ नागरिक एवं अपांगता भएका व्यक्तिहरू थप जोखिममा परेको बताइन् । उनले कोभिडको महामारी बढ्दै जाँदा शारीरिक र मानसिक दुवै किसिमका दबाबमा महिला एवं बालबालिका पर्न थालेको उल्लेख गरिन् ।

मन्त्री चौधरीले कोभिडबाट व्यापार व्यवसाय प्रभावित बनेको भन्दै महिलाहरूलाई व्यवसायमा फर्काउन सीपमूलक कार्यक्रम ल्याउनुका साथै व्यवसाय गर्न पुँजी र बजारको खोजीमा पनि सहयोग आवश्यक रहेको उल्लेख गरिन ।

‘महिलाहरूलाई व्यवसायमा जोड्न सीपयुक्त तालिमका साथै व्यवसाय सुरु गर्न पुँजी र उत्पादित वस्तुको बजारसम्मको पहुँचका लागि सहयोग आवश्यक छ,’ उनले भनिन् ।

यस्तै महिलाविरुद्ध सबै स्वरूपका विभेद हटाउने सम्बन्धी राष्ट्रसंघीय समितिकी निर्वाचित सदस्य राणाले कोभिडका कारण रोजगारीका अवसर गुमाउने मध्ये ७० प्रतिशत महिलाहरू नै रहेको भन्दै अनौपचारिक क्षेत्रमा काम गर्नेको अवस्था अझै भयावह रहेको बताइन् ।

उनले कोडिसँग जुध्न अग्रपंक्तिमा खट्ने जनशक्तिमा महिलाको संख्या ठूलो भएपनि नेतृत्वदायी भूमिकामा उनीहरूको प्रतिनिधित्व कमजोर रहेको उल्लेख गरिन् ।

‘अहिलेको संकटमा सबैको ध्यान नागरिकको जीवन बचाउनेतर्फ केन्द्रित हुनुपर्छ,’ राणाले भनिन् । ‘नागरिकहरूलाई परेको संकट, भविष्यमा आइपर्ने समस्या र त्यससँग जुधेर अघि बढ्न पर्याप्त तयारी नेतृत्व तहबाट हुनुपर्छ । अहिले भएका कामहरूको अभिलेख राम्रोसँग व्यवस्थापन गरेर भविष्यमा थप काम गर्नुपर्छ ।’

यसैगरी युनाइटेड इन्स्योरेन्सकी प्रमुख कार्यक्रारी अधिकृत पौडेलले कोभिडपछि काम गर्ने तौरतरिका र चेतनामा फरकपन देखिएको बताईन । उनले कोभिकाकारण मनोवैज्ञानिक दबाबमा परेका कर्मचारीको मनोबल बढाउन परामर्श दिनुपर्ने आवश्यकता औँल्याईन ।

‘हामीले संस्थागत उत्तरदायित्वमा ध्यान दिनुपर्छ, अहिलेको बेला सबैले एकजुट भएर आफ्नो जिम्मेवारी पुरा गर्नुपर्छ,’ उनले भनिन, ‘यो महामारी हो, कहिले सकिन्छ भन्न सकिँदैन, जहिलेसम्म यो रहन्छ हामीले संस्थागत उत्तरदायित्व बहन गर्दै व्यवसाय सञ्चालन गर्नुपर्छ ।’

कार्यक्रममा परिसंघका उपाध्यक्ष एवं सिएनआई सीईओ फोरमका कोअर्डिनेटिङ उपाध्यक्ष चौधरीले अहिले सबैले ठूलो संकट विरुद्ध संघर्ष गरिरहेको बताइन् ।

कोभिडको दोस्रो लहरले सबैलाई प्रभावित बनाएको भन्दै उहाँले स्वास्थ्य सुरक्षा नै मुख्य चुनौती रहेको बताए । सीएनआई सीईओ फोरमका कन्भेनर एवं नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत शाहले कोभिडको संकटबाट जोगिएर दैनिक कार्य सञ्चालन गर्नुपर्ने र सबै क्षेत्रले सहकार्य गर्नुपर्ने बताए ।

अहिलेको संकटमा सरकार, निजी क्षेत्र र गैरसरकारी क्षेत्रबीचको सहकार्य आवश्यक रहेको उनको भनाइ छ । परिसंघ अन्तर्गतको सीएनआई सीईओ फोरमले विभिन्न विषयमा नियमितरूपमा नेतृत्वदायी भूमिकामा रहेकाा व्यक्तिहरूसँग सीएनआई-सिईओ डाइलग सिरिज गर्दै आएको छ ।

प्रतिक्रिया