बिहीबार, वैशाख १३, २०८१

‘लक्षितवर्गमा परीक्षण नहुँदा कोरोना संक्रमितको तथ्यांक घट्यो’

प्रनिशा अधिकारी २०७८ जेठ २८ गते १४:२५

काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले कोरोना परीक्षण लक्षित वर्गसम्म पुग्न नसकेको जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको दर घटिरहेका बेला शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले यस्तो जनाएको हो ।

अझै पनि गाउँ-गाउँमा पूर्ण रुपमा कोरोना परीक्षण हुन नसकेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागर राजभण्डारी बताउँछन् । ‘काठमाडौं उपत्यकासहित ठूला सहरमा मात्र कोरोना फैलिएको होइन गाउँ गाउँमा पनि फैलिएको छ, त्यहाँ पनि कोरोनाको प्रभावकारी रुपमा परीक्षण हुनुपर्छ ।’ अस्पतालका निर्देशक राजभण्डारी भन्छन्, ‘सहरदेखि गाउँसम्म सबै ठाउँमा कोरोनाको परीक्षण हुनुपर्छ अनि मात्र संक्रमितको यकिन तथ्यांक आउँछ ।’

अहिले पनि स्थानीय सरकारले गाउँ-गाउँमा कोरोना परीक्षण ठूलो परिमाणमा गर्न नसकेको उनी बताउँछन् । सीमा क्षेत्रमा कोरोना संक्रमितको ठूलो संख्या हुन सक्ने उनी आशंका व्यक्त्त गर्छन् ।

उनको भनाइ अनुसार अहिले नेपालमा जति पनि कोरोनाको परीक्षण भइरहेको छ त्यो सबै ठूला सहरमा बस्ने साथै रोजगारीका लागि विदेश जानेहरूले मात्र परीक्षण गराइरहेका छन् । यसले कोरोना संक्रमण नै नभएकाले परीक्षण गर्दा कोरोना घटेको जस्तो देखिएको हो ।

‘कोरोनाको अवस्था बुझ्न सबैभन्दा पहिला वास्तवमै कोरोना संक्रमण भएर कतिले कोरोना परीक्षण गरेका छन् यो बुझ्न जरुरी छ,’ निर्देशक राजभण्डारी भन्छन्, ‘चार्टर्ड उडान, विदेश जाने तथा कसैलाई रिपोर्ट चाहिनेले मात्र परीक्षण गराएर कोरोनाको वास्तविक तथ्यांक आउँदैन ।’

उनी भन्छन्, ‘कोरोना संक्रमण केही कम भएको हो । ५६ प्रतिशत पिकअपबाट २०∕२५ प्रतिशतमा झरेको छ । यसलाई हामीले सकारात्मक नै मान्नुपर्छ । काठमाडौं उपत्यकाको हकमा भने पहिलाको तुलनामा धेरै कम भएको छ ।’ बिरामी त धेरै प्रकारका हुन्छन्, उनीहरू अस्पताल आए पनि सबै कोरोनाको बिरामी भन्न मिल्दैन । कतिले त परीक्षण नै गराएका पनि हुँदैनन् ।

सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन भने कोरोना संक्रमण केही कम भएको बताउँछन् । उनी भन्छन्, ‘शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा पनि अहिले संक्रमण कम भएसँगै अक्सिजन र शय्याको अभाव पनि कम भएको उनी बताउँछन् ।’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार पछिल्ला केही साता भने संक्रमण कम भएको देखिन्छ ।

हिजो (बिहीबार) तीन हजार सात सय ३९ संक्रमित थपिएका थिए भने ५९ जनाको मृत्यु भएको थियो । नेपालमा संक्रिय संक्रमित एक लाख नाघेकामा बिहीबारसम्म पुग्दा घटेर ७७ हजार ८५८ मा झरेको छ । नेपालमा १४ जिल्लाबाहेक बाँकी सबै जिल्लामा पाँच सयभन्दा बढी सक्रिय संक्रमित छन् ।

निषेधाज्ञाभन्दा अगाडि सहरबाट गाउँ गएका अधिकांश व्यक्ति क्‍वारेन्टिनमा नबस्दा तीव्र रुपमा संक्रमण फैलिएको स्वास्थ्कर्मीले बताउँदै आएका छन् ।
अहिले अधिकांश जिल्लामा कोरोना रोकथाम तथा नियन्त्रणका लागि स्थानीय जिल्ला प्रशासन कार्यालयहरूले निषेधाज्ञा जारी गरेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमण निको हुनेदर ८५ दशमलव ७ प्रतिशत छ । नेपालमा हालसम्म कुल कोरोना संक्रमित ६ लाख एक हजार ६८७ पुगेका छन् । त्यस्तै ५ लाख १५ हजार ५९१ निको भएर डिस्चार्ज भएका छन् । ३१ लाख ८९ हजार १०४ जनामा पीसीआर परीक्षण गरिएको छ । हालसम्म नेपालमा कुल आठ हजार २३८ जनाको मृत्यु भएको छ (यो जेठ २७ गते बिहीबारसम्मको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार हो)

प्रनिशा अधिकारी

अधिकारी नेपालखोजका संवाददाता हुन् ।

प्रतिक्रिया