शनिबार, वैशाख ८, २०८१

सिँगान र राजनीति

सुजम्बर सम्भव २०७८ जेठ २९ गते १०:००

सिँगान !
भए पनि आपत्ति
नभए पनि आपत्ति ।

सिँगान तान्दै स्कुल जाँदा
मास्टरजीको मसला
आमाको हप्काई
बाबाको दुई पाउ आशीर्वाद
सँगीहरुको जुगुप्सा
सबै मलाई याद छ।
अनि पीडाबोधले
थला परेको मेरो मुखमण्डल
त्यो पनि याद छ।
त्यसैले सिँगानलाई कहिलै हेर्दिन
मिल्काईदिन्छु आँखा नजुधाई ।

बढेपछि र पढेपछि पो थाहा भयो
जीवाणुनासक गुणसहित रहने सिँगान
नाकलाई सर्वदा मुलायम राख्ने
र, घ्राण शक्ति कायम राख्ने रहेछ
सिँगान, खराब नै सही
अनिवार्य रहेछ बाँच्नलाई।
तर, सम्झनुहोस् त यसको विभत्स रुप
के तपाईंलाई वमनले दमन गर्दैन ?
नघिनाएर के गर्नु ?
घिनाएर पनि के गर्नु ?
काटाैँ त आफ्नै नाक
नकाटाैँ त आफ्नै नाश ।
त्यसैले पुछिरहन्छु नाकलाई चेप्ट्याउँदै
र,अहिले सिँगान पुछ्दै गर्दा
सम्झिरहेको छु यो देशको फोहोर राजनीतिलाई ।

सिँगान र यो देशको राजनीति
मेरा लागि उस्तै-उस्तै हुन्
घिनाए पनि बोक्नै पर्ने
नघिनाए पनि नसकिने
भए पनि आपत्ति
नभए पनि आपत्ति

प्रतिक्रिया