शुक्रबार, जेठ ४, २०८१

लामो सास तान !

सुवास ढकाल २०७८ असार १२ गते २०:२६

अक्सिजनको अभाव भयो ?
लामो सास तान भाइ, लामो सास तान
मन्त्री-प्रधानमन्त्रीको नाम लिँदै तान,
कोभिसिल्ड खोपको कमिसन सम्झँदै तान,
पोहोर पचेको ठेक्का रकमको हिसाब गर्दै तान,
सत्ता लुछाचुँडीको रमिता हेर्दै तान
लामो सास तान भाइ, लामो सास तान ।
अक्सिजन नपाएर के भो ?
रुखले कार्बन र मान्छेले अक्सिजन फ्याँक्ने
तथ्य मनन् गर्दै तान
लकडाउनमा भोकले तिलमिलाएका सन्तानलाई
प्रधानमन्त्रीका रमाइला भाषण सुनाउँदै तान
चुच्चे रेल र पानीजहाज सम्झनु पर्दैन अब
प्रभुका विरुद्ध दिइएका बयान पढ्दै तान
आफ्न‌ै देशको चुच्चे नक्सा सिरानीमा राखेर तान
लामो सास तान भाइ, लामो सास तान ।
हस्पिटलको पटाङ्‌गिनीमा लडेर तान
सपना सावित भएको सिलिन्डर सम्झेर तान
प्रधानमन्त्रीका उद्घाटन, शिलान्यास र
बैठकीहरुमा पुगेर तान
आर्यघाटका चिताहरु टेकेर भइरहेको
सत्तारोहणको दृश्य हेर्दै तान
तान भाइ तान
कि आफ्ना लागि आफैं सास तान
नसके विद्रुप सत्ताको सास (प्राण) तान
लामो सास तान भाइ, लामो सास तान ।

प्रतिक्रिया