शनिबार, वैशाख ८, २०८१

सुरक्षा मापदण्ड कडाइसाथ लागु गर्दै लकडाउन खुकुलो बनाउन नाडाको आग्रह

नेपालखोज २०७८ जेठ २९ गते १३:०३


काठमाडौं । स्वास्थ सुरक्षाका मापदण्डलाई कडाइका साथ पालना गरी लकडाउनलाई क्रमशः खुकुलो बनाउदै लैजान नेपाल नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले सरकारसँग आग्रह गरेको छ ।

सरकारबाट कोभिड-१९ को दोस्रो लहरको संक्रमण रोकथामको सन्दर्भमा हाल जारी निषेधाज्ञाबारे नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले विज्ञप्ति जारी गर्दे लकडाउनलाई खुकुलो बनाउन आग्रह गरेका हुन् ।

‘सरकारले यथाशक्य जनतालाई छिटोभन्दा छिटो खोपको समुचित व्यवस्था गरी संक्रमणबाट बच्ने अन्य सुरक्षात्मक उपायहरुको कडाइसाथ पालन गराउँदै उद्योग व्यवसायहरु सञ्चालन गर्न आवश्यक वातावरण बनाउनुपर्छ भन्ने हाम्रो धारणा छ,’ विज्ञप्तिमा भनिएको छ ।

थपिँदो लकडाउन अवधिका कारण अब जनता स्वयं नै आफ्नो दु:ख, पीडा र अभावका कारण बाध्य भई सडकमा आउने सम्भावना प्रवल हुँदै गएको र यस्तो सम्भावित समस्यालाई सरकारले यथोचित सम्बोधन पनि गर्न नसकिरहेको वर्तमान अवस्थामा निषेधाज्ञाको अवधि थपिँदै जाँदा समस्या अरु भयावह हुने निश्चित नै छ ।

‘यस्तो विकट स्थिति आउनुअघि नै सरकारले हाल घट्दो क्रममा रहेको संक्रमणको स्थितिलाई दृष्ट्रिगत गर्दे लकडाउनलाई क्रमशः खुकुलो बनाउँदै लैजान लागि हामी सरकारसँग हार्दिक अपिल गर्दछाैं,’ विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया