बाबुरामको नजरमा दीपक मनाङे- रत्नाकरबाट वाल्मीकि

काठमाडाैं । राजीव गुरुङ उर्फ (दीपक मनाङे) गण्डकी प्रदेशको मन्त्री बनेपछि र यसक्रममा आफूसँग पनि भेटेपछि मिडियामा विभिन्न टीका-टिप्पणी भएको कुरा बताउँदै पूर्वप्रधानमन्त्री तथा जसपा नेता बाबुराम भट्टराईले यसलाई अन्यथा मान्नु नहुने कुरा बताएका छन् ।
भट्टराईले भनेका छन्, ‘मेरो सुविचारित र अनुभवजन्य मान्यता छ- कुनै पनि मान्छे जन्मजात अपराधी हुन्न । समाज र राज्यले मान्छेलाई अपराधी बनाउँछ । साथै वर्गीय र जातीय तथा लैंगिक विभेद भएको समाजमा राज्य र समाजको वर्चस्वशाली तप्काले उत्पीडित र बहिष्कृत तप्कालाई सहजै अपराधी बनाइदिन सक्छ ।’
यस क्रममा भट्टराईले अपराध र अपराधी एक सापेक्ष अवधारणा भएको जिकिर समेत गरेका छन् । मैले ०५९/६० सालको दोस्रो वार्ताकालमा देशका विभिन्न जेल र बन्दीगृहको भ्रमण गरेपछि भनेको थिएँ । भट्टराईले ट्विटरमा लेखेका छन्, ‘नेपालमा धेरै जेलमा बस्नुपर्ने मान्छे सत्ताको कुर्सीमा वा घरमा बसेका छन्, अनि खुला रूपमा रहनुपर्ने मान्छे जेलमा छन् । त्यही सोचका साथ आफू प्रम छँदा मैले जेल सुधारका निम्ति तत्कालीन सांसद देवी खड्काको संयोजकत्वमा एउटा उच्चस्तरीय आयोग बनाएको थिएँ, जसको प्रतिवेदन अझै कार्यान्वयन हुनसकेको छैन ।’
पूर्वप्रधानमन्त्री भट्टराई तर्क गर्छन्, ‘रत्नाकर वाल्मीकि बनेको हामी सबैले सुनेकै छौं । त्यसैले राजीव गुरुङले नयाँ जीवन र नयाँ भूमिका चाहन्छन् भने किन वञ्चित गर्ने ? किन पूर्वाग्रह राख्ने ?’
मनाङेको यू-टर्न :
भट्टराई र मनाङेबीच गत साता भएको भेट अनि त्यसपछि गुरुङको राजनीतिक मुभमा यु टर्न आएको छ । भट्टराईसँगको भेटपछि गण्डकी प्रदेश सांसद मनाङेले गत शुक्रबार दिउँसो भट्टराई र आफ्नो एउटा तस्बिर सामाजिक सन्जालमा सेयर गर्दै लेखे, ‘बाबुराम दाइसँगको भेटघाटको सार्थकता ।’
भट्टराईलाई भेटेपछि सम्पर्कविहीन भएका सांसद मनाङे करिब चौबीस घण्टापछि बिहीबार लेकसाइटस्थित एक होटेलमा देखिए अनि त्यसपछि प्रदेश मन्त्री पदबाट राजीनामा दिए ।
मनाङे गत बुधबार जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलाई भेटेपछि विपक्षी गठबन्धनलाई समर्थन गर्ने मानसिकता बनाएर नै काठमाडौंबाट पोखरा फर्किएका थिए ।
भनिन्छ मनाङे विपक्षी गठबन्धन अर्थात् कांग्रेस नेतृत्वको नयाँ सरकार गठन गर्ने विषयमा भट्टराईसँग भेट गर्न बुधबार दिउँसो जसपाका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका सह-इन्चार्ज रमेश पोखरेलसँग पोखराबाट काठमाडौं पुगेका थिए ।
मनाङे नेकपा (तत्कालीन वाम गठबन्धनमा एमाले)को समर्थनबाट २०७४ को प्रदेशसभा निर्वाचनमा मनाङ प्रदेशसभा ‘ख’ बाट विजयी गण्डकी प्रदेशसभा सदस्य हुन् ।
निर्वाचनमा विजयी भए पनि सांसद को शपथ लिनुअघि नै सर्वोच्चको फैसला आएपछि उनी फरार भए । वैशाख २०७५ मा पक्राउ परेका मनाङे उक्ति फैसला पुनरावेदनका लागि सर्वोच्चमा निवेदन दर्ता गराई धरौटी बुझाई तारेखमा छुुटेका हुन् ।
मनाङेको शपथ हुन सकेको थिएन त्यसैले जेलबाट छुटे पछि सबैभन्दा पहिले उनले सांसद पदको शपथका लागि निवेदन दिए भने नेकपा माओवादी र नेकपा एमालेको गठबन्धनपछि बनेको नेकपामा प्रवेश गर्ने सहमतिपछि उनको सपथ सहज भयो ।

उनले माघ १४ गते २०७५ मा सभामुख नेत्रनाथ अधिकारीबाट सांसदको शपथ खाएका हुन् । नेकपा प्रदेश इन्चार्ज तथा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले मनाङेलाई पार्टी प्रवेश गराएका थिए । नेकपा प्रवेश गर्नु अघि गुरुङ राप्रपासँग आबद्ध थिए ।
सांसद मनाङेले नेकपा विभाजनपछि भने आफूलाई स्वतन्त्र सांसद दाबी गर्दै आएका थिए । निर्वाचनमा उनले एमालेको समर्थनमा स्वतन्त्र हैसियतमा विजय हासिल गरेका हुन् भने नेकपा प्रदेश इन्चार्ज तथा तत्कालीन मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले उनलाई प्रबेश गराएको नेकपा अहिले सर्वोच्च अदालतको आदेशमा खारेजीमा परेको छ ।
अब हेर्नु छ (कांग्रेसका सांसद कृष्णचन्द नेपाली पोखरेल नेतृत्वको गठबन्धन सरकारमा स्वतन्त्र हैसियतमा मन्त्री भएका गुरुङ स्वतन्त्र नै रहन्छन् कि डा. बाबुराम भट्टराईको जनता समाजवादी पार्टी प्रवेश गर्छन् ? कि मनाङेले अरु कुनै दल रोज्ने छन् ?
प्रतिक्रिया